पाेखरामा विद्यालय नाटक महोत्सव (तालिका सहित)

पोखरा । पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल भइरहेको छ भने स्टेज र सेट डिजाइनको लागि समेत तिव्रताका साथ काम भइहरको आयोजकको भनाई छ । यहीं भाद्र २७ गतेदेखि सुरु हुने नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए ।

महोत्सवको लागि छनोट भएका नाटकको विवरण सहित मञ्चन मिति आयोजकले सार्वजनिक गरेको छ ।

जस अनुसार पहिलो दिन भाद्र २७ गते हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । रमेश तिमल्सिनाले निर्देशन गर्ने यो नाटकका लेखक भीमनिधि तिवारी हुन् ।

भाद्र २८ गते नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदैछ ।

भाद्र २९ गते प्रगति मा.वि.बाटुलेचौरको ‘भोला’ नाटकको पालो परेको छ । टंक चौालगाईले लेखेको नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुनेछ ।

भाद्र ३० गते ‘कोहि किन बर्बाद होस्’ नाटक सोसल पब्लिक स्कुल बुद्धचोकले मञ्चन गर्नेछ । विजय मल्लले लेखेको नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार हुनेछ ।

भाद्र ३१ गते भानुभक्त आवासिय मा.वि. सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको पालो परेको छ । मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गर्नेछन् ।

असोज ३ गते अतिथि नाटकको पालो परेको छ । काठमाण्डौ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौ’ टंक चौलागाईको लेखन निर्देशनमा हेर्न पाइनेछ ।

असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको किर्तिपुरको ‘युद्धमा’ नाटक मञ्चन हुनेछ । हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्दैछन् ।

असोज ५ गते ‘मुना मदन’ नाटक माउण्ट अन्नपूर्ण मा.वि. नदिपुरले मञ्चन गर्नेछ । लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपमान्तरण र निर्देशनमा हेर्न पाइनेछ ।

असोज ६ गते बाल मन्दिर मा.वि. नदिपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ । टंक चौलागाई लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दैछन् ।

असोज ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ । घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन् ।

असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ । यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् भने निर्देशन दिलिप देवकोटाले गर्दैछन् ।

असोज ९ गते केफ मा.वि. सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ । भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्दैछन् ।

असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ । छोरेपाटन मा.वि. छोरेपाटनले सरुभक्तले लेखेको नाटक अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ ।

असोज ११ गते एस.ओ.एस. हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ । अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन् ।

महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोडनाइज्ड एकेडेमीको चाउथेको नाटक ‘मसान’ हेर्न पाइनेछ । अञ्जु दाहालको निर्देशनमा तयार हुने नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन् ।

सबै नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजनले सघाउनेछ ।

थिएटरमा भैरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटर प्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको थिएटरका संस्थापक सञ्चालक मध्येका एक दीलप्रसाद गुरुङले जनाए । यसपालीको महोत्सवलाई भव्य बनाउन तयारीलाई समेत तिव्रता दिइएको गुरुङले खुलाए ।

पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

कमेन्टहरु
Loading...