पोखरामा २३ वर्ष पछि बाघजात्रा देखाइने

पोखरा । पोखरामा २३ वर्षपछि बाघ जात्रा देखाइने भएको छ । यहि भदौ १८ गतेदेखि २० गतेसम्म बाघजात्रा देखाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०५७ सालमा मोहरिया टोलमा नचाइए पछि निरन्तरता दिन नसकिएको र यस वर्ष देखि पुनः निरन्तरता दिइने बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले जनाकारी दिए । लोपोन्मुख अवस्थामा रहेको जात्राको उजागर गर्न र युवापुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले जात्रा गर्न लागिएको उनको भनाई थियो ।

 

सय वर्ष भन्दा अघिदेखि शुरु गरिएको जात्रा पोखरामा पहिलो पटक २००६ सालमा प्रदर्शन गरिएको समितिका सचिव सुनिल उलकले बताए । ‘यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको भनाइ छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको हो । अहिले यो नेपाली खासगरी नेवारी समुदायको मौलिक र महत्वपूर्ण जात्राको रुपमा स्थापित छ ।’ –उनले भने ।

 

जात्रामा राजारानी, मन्त्री, जनता, घोडासहित सेना, कुमारी, लाखे, बाँसुरी धुनलगाएतका विभिन्न संस्कृतिहरु देख्न पाइने समिति सदस्य शान्ति श्रेष्ठ उदासले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...