तिजका नाममा तडक भडक र खर्चिला कार्यक्रम गर्नेलाई कारवाही हुने

गन्थन संवाददाता, पोखरा । हिन्दु महिलाहरुको महान पर्व हारितालिका तिज नजिकिँदै छ । तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने समेत कास्की प्रशासनले बताएको छ ।

आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने र सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन नगर्न कास्की प्रशासनले अनुरोध गर्दै तिजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती बिना आयोजना नगर्न आग्रह गरेको छ ।

यदि त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले आज जारी सूचनामा उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनाः

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गइरहेको सन्दर्भमा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने र जसका कारण विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ । तसर्थ आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन नगर्न नगराउनु हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरिन्छ । साथै तिजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती बिना आयोजना नगर्नु हुन जानकारी गराईन्छ । सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, संचारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ । यस सूचना, सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ र अन्य प्रचलित कानुनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु नगर्नु नगराउनुहुन अनुरोध छ। कसैले यस सूचना विपरित गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

कमेन्टहरु
Loading...