पोखरा । पोखरा महानगरपालिका वडा नं. ३१ले बिहिबारबाट सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गर्ने कार्य सुरु गरेको छ ।
१ सय ३ दलित सुकुम्बासी र ५५ अन्य सुकुम्बासी गरी जम्मा १ सय ५८ जनालाई अस्थायी निस्सा वितरण गर्ने कार्य बिहिबार देखि सुरु गरिएको हो ।
कार्यक्रममा जिल्ला भूमि आयोगका अध्यक्ष गंगा पोख्रेलले भूमी आयोगको कार्यविधिका बारेमा स्पष्ट पार्दै अहिले अस्थायी निस्सा प्राप्त गरेका सुकुम्बासीहरुको व्यक्ति र भूमी प्रमाणीकरण गर्नु पर्ने कुरा स्पष्ट पारेका थिए । पोख्रेलले २०६६ भन्दा अगाडि भोग चलन गर्दै आएका वास्तविक सुकुम्बासीले प्रमाणीकरण भए पछि मात्र स्थायी जग्गाधनी प्रमाण पत्र प्राप्त गर्ने जानकारी दिए । कसैले पनि झुक्याएर जग्गा पाइने कुरा कल्पना समेत नगर्न उनले सचेत गराए ।
यस्तै गरी पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले विगतका वर्षहरु देखि नै थन्किएर रहेको सुकुम्बासीको समस्यालाई प्रक्रियागत रुपमा अगाडि बढाइएको बताए ।
कुनै सुकुम्बासीको कागजात अपुग भएमा त्यस्ता सुकुम्वासीहरुलाई जानकारी गराई आवश्यक कागजातहरु पूरा गर्न लगाई प्रकृयागत रुपमा अगाडि बढाउन पहल गर्ने वडा अध्यक्ष कंडेलले जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव पोष्ट बहादुर ढकालले गरेका थिए ।