पोखरा । पोखराको कालिका र सिद्ध माध्यमिक विद्यालयमा युनाईटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना र एरोस्टार एभिएन इन्स्टिच्युटको सहयोगमा ‘उड्डयन शिक्षा’ शुभारम्भ भएको छ ।
नमूना परियोजनाको रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रम यस शैक्षिक सत्रभरि सञ्चालन हुनेछ भने कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीको सहभागिता रहनेछ । विद्यार्थीको अध्ययनलाई असर नपरोस् भन्ने हेतुले उक्त कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार सञ्चालन गरिने युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानले जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत दुई विद्यालयका ५० देखि ६० इच्छुक विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइनेछ । विद्यार्थीलाई उड्डयन शिक्षा अन्तर्गत भविष्य निर्धारणका लागि त्यहाँभित्र आवश्यक जनशक्तिको उत्पादनसम्बन्धी सम्पूर्ण जानकारी दिइनुका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन समेत गराईनेछ ।
यस कार्यक्रमको सहजीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवेन्द्र केसीले गर्नेछन् । साथै विमानस्थलभित्र विभिन्न क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई समेत अतिथिको रुपमा कार्यक्रममा सहजकर्ताको रुपमा आमत्रण गरिनेछ ।
सामुदायिक विद्यालयमा यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक आयोजना गरिएको र यसले उड्डयन क्षेत्रमा विद्यार्थीको बुझाईलाई गहिराईसम्म पुर्याउने तथा त्यस क्षेत्रमा अगाडि बढ्न चाहने विद्यार्थीलाई सुवर्ण अवसरको रुपमा विद्यालयले लिएको छ ।