संघियताका बारेमा सोच्नुपर्ने बेला आएकोः नेता भण्डारी

पोखरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघियताका बारेमा सोच्नुपर्ने बेला आएको बताएका छन् ।

पोखरामा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संघियताले धेरै विकृति जन्माएको हुँदा यसको विकल्प खोज्नुपर्ने बताए । जनतालाई अधिकार प्रदान गर्न स्थानिय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उनको सुझाव थियो ।

संविधानमा लेखिए अनुरुप निर्वाचन पद्धतीले काम गर्न नसक्दा संघियता प्रति जनताको वितृष्णा बढ्दै गएको नेता भण्डारीले बताए । निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको उनको भनाई थियो ।

उनले समानुपातिक प्रणालीमा एउटै व्यक्तिले तिन पटक अवसर लिएको बताउँदै पहिचान भनेको विविधता हो, यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेको समेत आरोप लगाए ।

संघीयताले राष्ट्रिय सुरक्षामा समेत कमजोर बनाएकाले संघीयताका बारेमा पुनर ब्याख्या गर्न जरुरी भएको उनले दोहोर्याए । देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनै पर्छ, उनले भने– राष्ट्रिय स्वाधीनता प्रति दलहरु विचलित हुनु हुदैन् ।

नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन जरुरी रहेको उल्लेख गर्दै वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने भनाई राखे । धर्म निरिपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनितिक रुपमै डिजाइन भएको भन्दै धर्म निरपेक्षता घोषण गर्न नेताहरु विदेशीको दवावमा परेको पनि उनको आरोप थियो ।

नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुने भनाई उनको छ । देश रहेमा मात्र पार्टी र सरकार रहन्छ भन्दै राष्ट्रियताको सवालमा गम्भीर रहन सबैलाई आग्रह गरे ।

पूर्वमन्त्री समेत रहनुभएका नेता भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको  यथार्थ प्रस्तुुत गरे । उनले ठेकेदारहरुलाई ८० अर्ब रुपैयाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको समेत बताए ।

यसका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्ने बताए ।

भ्रष्टाचारको बारेमा बोल्दै नेता भण्डारीले राजनीतिक संकटका बेला दलहरुकै नेताबाट अपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनैवढि राजनीतिक नैरास्यता छाएको बताए ।

देश बनाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनु पर्ने भनाई राख्दै अब राजनीतिक दलहरु नयाँ ढंगबाट अगाडि वढ्नुको विकल्प नरहेको समेत उनको भनाई थियो ।

 

 

 

 

 

कमेन्टहरु
Loading...