पोखरा । यहि साउन ५ गते अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अधिवेशन विधान र प्रक्रिया विपरित कमिटी घोषणा गरिएको भन्दै विवेक ओझाले आपत्ति जनाएका छन् ।
अधिवेशनमा परेको उम्मेदवारीमा निर्वाचन हुनुपर्नेमा अध्यक्ष मण्डलले आफुखुसी कमिटीको घोषणा गरेको उनको आरोप छ ।
उपाध्यक्षमा एक मात्र उम्मेदवारी आफ्नो परेको र छलफलका नाममा अध्यक्ष मण्डलले उम्मेदवारी नै नपरेका २ जनालाई उपाध्यक्षमा घोषणा गर्नु विधान विपरित रहेको भन्दै आपत्ती जनाएका छन् ।
एक मात्र उम्मेदवारी आफुले उपाध्यक्षमा दिए पनि अध्यक्ष मण्डलले उपाध्यक्षमा उम्मेदवारी नै नपरेको अन्य दुई जनालाई उपाध्यक्षमा राखि आफुलाई सहसचिवमा घोषणा गरेको उनी बताउँछन् ।
छलफलका नाममा आफुखुसी कमिटीको घोषणा गर्नु विधान र प्रक्रिय विपरित भएको भन्दै ओझाले सहसचिवबाट राजिनामा दिएका छन् ।
‘अनेरास्ववियुको विधान अनुरुप १० पालिका, २५ स्ववियु हुने क्याम्पस र १०० मावि रहेका ९ सदस्यीय कमिटी बनाउन मिल्ने प्रावधान रहेको छ । तर यो प्रावधान अनुरुपको मापदण्ड कास्कीमा मेल खाँदैन । प्रावधान अनुसार ७ सदस्यीय कमिटी बन्नुपर्ने थियो । प्रक्रियालाई मान्ने हो भने अन्य कोही पनि उम्मेदवारी दर्ता नगरिएको उपाध्यक्ष पदमा मेरो स्वतः घोषणा हुनुपर्ने थियो । तर अध्यक्ष मण्डलले उपाध्यक्ष पदमा सचिवका दुई आकांक्षीलाई राखेर मलाई सहसचिवमा राखि ९ सदस्यीय कमिटी घोषणा विधान सम्मत पनि छैन । अन्त्यमा विद्यार्थी आन्दोलनको यात्रामा मेरो पाइला राकिएको छैन । विधान र प्रक्रिया विपरित घोषणा गरिएको कमिटीमा मलाई दिएको सहसचिवको जिम्मेवारीलाई वहन गर्न असमर्थ रहेको जानकारी गराउँदै राजिनामा दिएको जानकारी गराउँदछु ।’ –उनले राजिनामा कागजमा लेखेका छन् ।