पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा अवस्थित वाराही माविबाट एसईई उत्र्तीर्ण विद्यार्थीहरुलाई विद्यालयल बधाई तथा सम्मान गरेको छ । २०७९ सालको एसईईमा विद्यालयबाट सहभागि भई उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरुलाई हौसला प्रदान गर्न विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो ।
वाराही माविबाट यसवर्षको एसईईमा ७६ जना सहभागि थिए । उनीहरु उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भण्डारीले बताए । शैक्षिक स्तर सुधार हुँदै गएको र विद्यार्थीहरुको नतिजाले विद्यालयलाई थप हौसला प्राप्त गरेको भण्डारीले बताए । विद्यालयको अवको लक्ष्य नै शैक्षिक गुणस्तरलाई अझै वृद्धि गर्दै लैजाने रहेको उनको भनाई थियो । एसईई पछिको पढाईका लागि रोजिने विज्ञान, व्यवस्थापन र शिक्षा संकायका लागि वाराही माविमै भर्ना खुलेको जानकारी समेत उनले दिए ।
बधाई तथा सम्मान कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले वाराही मावि विद्यार्थीको रुचीको विद्यालय बन्दै गएको बताए । विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि धेरै अगाडी रहेको हुँदा वडा कै गौरवको विद्यालय भएको उनको भनाई थियो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले विद्यालयको गुणस्तरमा थप सुधार गर्न समिति हरदम प्रयासरत रहेको बताए ।
अभिभावक, शिक्षक, विद्यार्थी सबैको साथले मात्र नमूना विद्यालय बनाउन सकिने शिक्षक अभिभावक संघका अध्यक्ष मोतिराम भट्टराईले बताए ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि रामप्रसाद पोखरेलले ११, १२ को नतिजालाई अझ उच्च बनाउन आग्रह गर्दै वाराहीलाई नमूना विद्यालय बनेको देख्ने चाहना रहेको बताए ।
यता वडा ५ की जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले वाराहीलाई यस क्षेत्रको मात्र नभई देशकै नमूना विद्यालय बनाउन सबै सरोकारवालालाई आग्रह गरिन् ।
त्यस्तै मेहेनतलाई निरन्तरता दिन विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ पौडेलले आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक डिल्लीराम गिरीले राखेका थिएभने सञ्चालन विद्यालयका सूचना अधिकारी तुलसी प्रसाद भण्डारीले गरेका थिए ।
यस पटकको एसईईमा विद्यालयमै उच्च अंक ३.८ जिपिए ल्याउन सफल विद्यालयकी छात्रा अस्मिता रेग्मीले आफ्नो अनुभव सुनाएकी थिइन् ।