पोखरा / सूर्योदय क्लब नदीपुर, लायन्स क्लब अफ पोखरा गतिशिल मञ्जरी र पिस पोखरा ड्राइभिङ्ग एण्ड प्रि टेष्ट सेन्टर प्रा. लि. को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा ५२ युनीट रगत संकलन भयो ।
प्रमुख अतिथि पोखरा महानगरपालिका ३ का वडाध्यक्ष प्रकाशमान उदासले रक्तदान गर्नु पुण्य कार्य भएको दावी गरे । मानिसलाई रगत अत्यावश्यक हुँदा मानिसले नै दान गरेको रगतको बाहेक संसारमा कुनै अर्को विकल्प नै नरहेकोले यो अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहेको उनको तर्क थियो । सामाजिक कार्यमा निकै अग्रसर क्लबहरु र व्यवसायीक संस्थासमेत मिलेर एकताको उदाहरणीय सन्देश दिएको उनले बताए ।
त्यस्तै, विशेष सामाजिक जिम्मेवारी वहन गर्ने यस्ता संस्थाहरुलाई आफूले भविष्यमा सक्दो साथ सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रम सूर्योदय क्लबकी रक्तदान कार्यक्रम संयोजक एवं संलग्न लायन्स क्लबकी अध्यक्ष जीवन कुमरी बरालको अध्यक्षतामा शुरु भएको थियो । निस्वार्थ भावले रक्तदानमा सरिक हुने व्यक्तिहरुको भाव र कार्य दुवै अनुकरणीय र प्रशंशनीय रहेको उनको विचार थियो ।
पिस पोखरा ड्राइभिङ्ग एण्ड प्रि टेष्ट सेन्टरका अध्यक्ष अमृत लम्सालले व्यवसाय गरिरहँदा संस्थागत जिम्मेवारी वहन गर्दै मानवताका लागि पवित्र कार्यमा जोडिन पाउँदा खुशी लागेको अनुभव साट्दै सबैलाई स्वागत गरेका थिए । साथै सूर्योदय क्लबकी सचिव यशोदा गौतमले कार्यक्रम सञ्चालन गर्दै खुल्ला रक्तदान कार्यक्रममा सरिक हुन इच्छुक सबैलाई आग्रह गरेकी थिइन् ।
रक्त संकलनमा नर्सहरु भावना देवकोटा र यमुना के. सी. निरन्तर खटिएका थिए । ५२ युनिट रगत बुझेपछि नेपाल रेडक्रस स्वास्थ्य समितिका अधिकारी महेन्द्र के.सी.ले संस्थालाई प्रमाणपत्र दिँदै यो सहभागिता उल्लेखनीय भएको बताए । उनले कार्यक्रममा वरिष्ठ राष्ट्रिय कलाकार प्रकाश घिमिरले समेत रक्तदान गरी रक्तदानको महत्व आत्मसाथ गरीदिनु भएको र यसले अरुलाई पनि प्रेरित गर्नेछ भन्दै खुशी व्यक्त गरे । त्यस्तो व्यत्तित्व सूर्योदय क्लवले संस्थापक अध्यक्षका रुपमा र नदीपुरले पाएकोमा बधाई समेत दिए ।
के.सी.ले उपयुक्त उमेर समूह (१७ देखि ६५ वर्ष), तौल (४५ भन्दा माथि) र सामान्य रक्तचाप भएका सामान्य व्यक्तिले ३ महिनाको अन्तरमा रक्तदान गर्न मिल्ने बताए । नयाँ रक्तदानको कोड अनुसार अब भने थाइरोइड र सामान्य प्रेसर, कोलेस्टेरोलका औषधी सेवन गरेका व्यत्तिले समेत रक्तदान गर्न सक्ने जानकारी दिए । मधुमेहका बिरामी, असामान्य रक्तचाप, ज्वरो निको भएको एक हप्ता अगावै तथा अन्य विभिन्न अवस्थामा भने रक्तदान गर्न नमिल्ने भन्दै साबधान गराए ।