जनसाँस्कृतिक महासंघ गण्डकीले गरेको खुल्ला कविता प्रतियोगितामा शर्मिला प्रथम

पोखरा । राष्ट्रिय जनसाँस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य स्वर्गिय प्रा. डा. रविलाल अधिकारीको ७९ औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा शर्मिला कार्की प्रथम, संयोग बस्याल द्वितिय, रमा खतिवडा तृतिय, रोशन तिमिल्सिना सान्त्वना तथा आर्या त्रिपाठीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले साहित्य, कला र सँस्कृतिका सन्दर्भमा राजनैतिक नेतृत्वको ध्यान जान नसकेकोमा दुःख व्यक्त गरेका छन् । त्यसै गरी विम्व कवि रमेश श्रेष्ठले कवितामा राजनैतिक चेत हुनुपर्ने तर कविता नारा बन्न नहुने विचार राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठले रविलाल गुरुको जीवनबाट सरलता र निरन्तरताको पाठ सिक्न सकिने बताए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, समालोचक डा. यदुनन्दन उपाध्याय र साहित्यकार अधिकारीका ज्येष्ठ पुत्र प्रमोद अधिकारीले समेत साहित्यकार अधिकारीको जीवनको विविध पाटाहरुको बारेमा बताएका थिए ।

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष सुवास मल्लले गुरु प्रदेशभरमा महासंघको एक जनामात्र संस्थापक रहेकाले उनको जयन्ति हरेक वर्ष मनाउने जनाए ।

कुल ३८ वटा कविताहरु सहभागि प्रतियोगिताको अन्तिम चरणका लागि १५ वटा कविता छनोट भएका थिए । प्रतियोगिताको निर्णायक मण्डलको भूमिका विम्व कवि रमेश श्रेष्ठ, समालोचक डा. यदुनन्दन उपाध्याय र कवि लक्ष्मी थापाले निर्वाह गरेका थिए ।

कार्यक्रममा महासंघ कास्की जिल्ला कमिटीका अध्यक्ष शिवहरी ढुंगानाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश कमिटीका महासचिव छवि सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...