धुम्रपान र सुर्तिजन्य पदार्थ न्यूनीकरणका लागि कानुन भएपनि कार्यान्वयन फितलो

पोखरा । धुम्रपान र सुर्तिजन्य पदार्थको प्रयोगमा रोकथाम तथा न्यूनीकरणका लागि कानून भएपनि कार्यान्यवनको पाटो फितलो रहेको सरोकारवालाहरुले बताएका छन् । आज (आइतबार) पोखरामा धुम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्वन्धि सरोकारवालाहरुसँगको अन्तरक्रियामा यस्तो कुरा बताइएको हो ।

 

धुम्रपान र सुर्तिजन्य पदार्थ न्यूनीकरणका लागि कार्यान्वयनमा राज्यले देखाएको झिनो चासोका कारण अझ बढी प्रयोगकर्ता बढ्दै गएका कार्यक्रममा बताइएको थियो । साथै विश्वमा बार्षिक करिब ८० लाख मानिसहरुको मृत्यु सुर्तिजन्य पदार्थ सेवनका कारण भएको तथ्यांक देखाइएको थियो ।

 

धुम्रपान र सुर्तिजन्य पदार्थ रोकथामका लागि राज्यले छुट्टयाउने बजेटमा समेत कमि भएकाले सोचेअनुरुप काम नभएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कृष्ण अर्यालले बताए । अनुमति प्राप्त गर्ने पसलले मात्र बेच्न पाइने नियम आवश्यक रहेको र उनीहरुलाई कडाइका साथ अनुगमन गर्नुपर्ने उनको भनाई थियो ।

 

स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार उद्दवराज भेटुवालले मिडियाको प्रभाव समाजमा राम्रो भएकाले सुर्तिजनय पदार्थमा मिडियाले सकरात्मक भूमिका खेल्दै सचेत बनाउनुपर्ने बताए ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाले जुनसुकै पसलमा पनि सुर्तिजन्य पदार्थ पाइनुका कारणले पनि यसको न्यूनीकरणमा असहज भएको बताए ।

 

त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीका नासु चेतराज आचार्यले सबै क्षेत्रका साथ र सहयोगले मात्र सुर्तिजन्य पदार्थ रोकथामको कार्यलाई सफल पार्न सकिने बताए ।

 

सबैको भूमिका महत्वपूर्ण रहेको र यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले बताए ।

त्यस्तै स्वास्थ्य पत्रकार मञ्च गण्डकीका अध्यक्ष यदुनाथ बञ्जाराले धुम्रपान र सुर्तिजन्य पदार्थमा कडाइका साथ रोक लगाउनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौंको आयोजनामा भएको अन्तरक्रियामा स्थानीय निकाय, पोखरा महानगर, कास्की प्रशासन, प्रहरी, पत्रकारलगाएतको उपस्थिति थियो । स्वास्थ्य पत्रकार मञ्च गण्डकीको सहकार्यमा भएको अन्तरक्रियाको प्राविधिक सहयोगका रुपमा जुन मिडिया प्रालिले गरेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...