पोखरामा पनि ‘प्राइड मन्थ’ मनाउँदै क्वेर समुदाय

पोखरा । यौनिक तथा लैंगिक अल्पसंख्यक अर्थात क्वेर समुदायले यो जुन महिना ‘प्राइड मन्थ’ (गौरव महिना) भनेर मनाउने गरेको छ । यसै अवसरमा समुदायले नेपालका सातवटै प्रदेशमा ‘प्राइड परेड’ (गौरव र्‍याली) मनाइरहेको छ । उक्त समुदायका व्यक्तिहरु आफु खुलेर आउनलाई पनि यो महिनालाई सहज रुपमा लिने गरेको निल हिरा समाजले जनाएको छ ।

आफु सम्वद्ध संघ संस्थाले मात्र नभई अन्य संस्थाले पनि यो समुदायको बारेमा थाहा पाउनुपर्छ भन्दै कार्यक्रमहरु गर्ने गरेका छन् । आज पोखराको पृथ्वी नारायण क्याम्पसमा पनि प्राइड मन्थ मनाउनका लागि हल्ट प्राइज भन्ने संस्थाले एक कार्यक्रम आयोजना गरेको थियो ।
संस्थाले क्याम्पसका विद्यार्थीलगाएत क्वेर समुदायका व्यक्तिहरुको सहभागितामा उत्सव र्‍याली, सामुहिक नृत्य, समूह गायन, नाटकलगाएतका संदेशमुलक मनोरञ्जनात्मक कार्यक्रम गरेको थियो ।

संस्थाले समाजको समस्यालाई उजागर गर्ने, समाधानको बाटो देखाउने, समाज विकासमा भूमिका खेल्ने जस्ता कार्यहरु गर्दै आएको र आज पछाडी परिरहेको क्वेर समुदायलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हल्ट प्राइज फाउण्डेसन पृथ्वी नारायण क्याम्पस पोखराका प्रमुख प्रचण्ड शक्ति गुरुङले बताए ।

जुन महिनालाई नै गौरवको महिनाको रुपमा मनाउनुमा लैङ्गिक तथा यौनिक अल्पसंख्ययक समुदायको पहिचान र अधिकारका लागि एक प्रकारको आन्दोलन भएको निल हिरा समाजकी अध्यक्ष पिन्की गुरुङले बताइन् । पहिलाको तुलनामा क्वेयर समुदायलाई समाजले हेर्ने दृष्टीकोणमा सकारात्मक सोचाईमा वृद्धि भएको उनको भनाई थियो ।

समाजमा खुलेर आउन नसक्ने क्वेर समुदायका व्यक्तिलाई यो महिनामा खुलेर आउन प्रोत्साहन गर्ने भएकाले जुन महिनालाई भव्यताका साथ मनाउने गरिएको नौलो बिहानी पोखराकी अध्यक्ष विन्दीया गौतमले बताइन् ।

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाउन थालिएको हो । त्यस वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो । नेपालमा ‘प्राइड परेड’ २०७६ सालदेखि मनाउन थालिएको हो । पोखरामा पनि जुन महिनाको शुरुवातदेखि क्वेर समुदायले विभिन्न कार्यक्रम गरि प्राइड मन्थ मनाइरहेको छ ।

तस्विरः रिना थापा

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु
Loading...