पोखरा वडा ५ ले लियो योजना तथा बजेट निर्माणमा युवाहरुको सुझाव

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार (आज) वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको हो ।

वडा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बरालले विकास निर्माणका प्रत्येक काममा युवाहरु आउनु आवश्यक रहेको बताए । विदेश पलायन रोक्न युवाहरुलाई सिपमुलक कामहरु सिकाएर नेपालमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।

समग्र वडाको विकासका लागि युवाकै आवश्यकता रहने र युवाको धारणा तथा दृष्टिकोण कस्तो रहेको बुझ्न कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष बरालले बताए । पोखराको ३३ वटा वडा मध्ये यस्तो योजना तथा बजेटमा युवाहरुको दृष्टिकोण बुझ्न खोजिएको वडा ५ पहिलो रहेको उनले दावी गरे ।

सहभागि युवाहरुले समग्र वडाको विकासका लागि आआफ्नो सुझाव प्रस्तुत गरेका थिए । जसमा सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, आइटीको पहुँच, बैदेशिक रोजगारलाई न्यूनीकरण, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई युवाहरुले महत्व दिएका थिए ।

वडाले योजना तथा बजेटसँग सम्वन्धित रहेर सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल तथा सुझाव संकलन गरिरहेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य हरिमाया विकले गरेकी थिइन् भने सञ्चालन वडासदस्य कल्पना भुवाजी क्षेत्रीले गरेकी थिइन् ।

 

कमेन्टहरु
Loading...