पाेखरा । कास्कीको माछापुच्छ्रे २ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लव माछापुच्छ्रे’ले एक रचनात्मक कार्यक्रम गरी पचासौँ विश्व वातावरण दिवस मनाएको छ ।
सो अवसरमा क्लवले विद्यार्थीलाई पूर्व सूचना गरी आफ्नो घर तथा वरपर रहेका फोहर सङ्कलन गरी बुझाउने प्रतियोगिता आयोजना गरेको थियो ।
सोही क्रममा १०/१० जनाको ३० वटा समूहले ५१९ केजी फोहर सङ्कलन गरी आयोजक समक्ष बुझाएको ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’की अध्यक्ष नम्रता गुरुङले बताइन् ।
प्रतियोगितामा विजयी समूहलाई अन्नपूर्ण संरक्षण क्षेत्र सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले पुरस्कार वितरण गरे ।
मन्तव्यका क्रममा न्यौपानेले यस्ता कार्यले विद्यार्थी तथा अभिभावक सबैमा सचेतना थपिएका जानकारी दिँदै विद्यालयको रचनात्मक कामको खुलेर प्रशंसा गरे ।
माछापुच्छ्रे २, भुर्जुङखोलास्थित माछापुच्छ्रे विद्यालयले प्रत्येक कक्षालाई भाषा, व्यवसाय, प्रकृति संरक्षण, नेतृत्व विकासलगायतका विभिन्न थिममा क्रियाशील गराइरहेको छ ।
विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले विद्यार्थीलाई पाठ्यक्रमले तोकेका निर्धारित सक्षमतालाई सहयोग पुग्ने गरी प्रत्येक कक्षालाई छुट्टाछुट्टै थिममा सक्रिय बनाउँदा सिकाइसमेत प्रभावकारी बन्दै गइरहेको बताए ।
करिब सात सय विद्यार्थी नियमित अध्ययन गर्ने माछापुच्छ्रे मावि क्रियाकलापका आधारमा देशकै उदाहरणीय स्कुल रहेको स्कुलके दावी छ । विद्यालयका शैक्षिक गतिविधि अवलोकन गर्न देशका थुप्रै विद्यालय त्यहाँ पुग्ने गरेका छन् ।