नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो नाम जोडिएकोमा आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको आरोपमा पक्राउ परेकाहरु मध्य नेपाली काङ्रेसका कार्यकर्ता समेत रहेका केशव दुलालले नेकपा एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई मुछेपछी शाक्यले त्यसमा कडा आपती जनाएका छन् ।

शाक्यले हिरासतमा रहेर वयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति आफ्नो लागि विल्कुलै अपरिचित व्यक्ति भएको भन्दै यस्ता अपरिचित व्यक्तिसंग अहिलेसम्म भेटघाट र सम्वाद समेत नगरेको उल्लेख गरेका छन् । शाक्यले यस्ता आधारहिन, भ्रामक र कपोलकल्पित वयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाईयो वा बोल्यो आश्चर्यचकित छु ,उनले भनेका छन् ।

हेर्नुस शाक्यको विज्ञप्ती

प्रेस विज्ञप्ती
नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा केही सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । यस प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका केही व्यक्तिको बयान भन्दै केही सञ्चार माध्ययममा मेरो नाम जोडेर समाचार प्रकाशित भएका छन् । हिरासतमा रहेर वयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति मेरा लागि विल्कुलै अपरिचित व्यक्ति हुन् । यस्ता अपरिचित व्यक्तिसंग मैले अहिलेसम्म भेटघाट र सम्वाद समेत गरेको छैन । यस्तो अवस्थामा यस्ता आधारहिन, भ्रामक र कपोलकल्पित वयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाईयो वा बोल्यो म आश्चर्यचकित छु । मसँग विल्कुलै असम्बन्धित र सरोकार नभएको विषयमा मलाई षडयन्त्रपूर्वक समावेश गरी मेरो चरित्रहत्या गर्न खोजेको स्पष्टै देखिन्छ ।
सतीले सरापेको देशमा असल काममा लागेको धेरैलाई षडयन्त्रमूलक ढंगले अपमानित गर्ने र कमजोर तुल्याउने हर्कतहरु विगतमा पनि नभएका भने होइनन् । मैले यो षडयन्त्रपूर्वक गरिएको योजनाबद्ध आरोपलाई त्यही श्रृंखलाका रुपमा लिएको छु ।
म लामो समयदेखि राजनीतिक र सामाजिक काममा सक्रिय रहँदै आएको छु । मेरो अहिलेसम्मको राजनीतिक र सामाजिक पृष्ठभूमि र मैले राजनीतिक र सामाजिक जीवनमा गरेका सकारात्मक कामलाई धब्बा लगाउने प्रयास गरी अहिले हठात्रुपमा आएका यस्ता समाचारले मलाई स्तब्ध बनाएको छ । मेरो जीवनको सबै भन्दा विदीर्ण आरोपको रुपमा मैले यस्लाई लिएको छु । पदीय जिम्मेवारीमा रहँदा होस् या जिम्मेवारीमा नरहेको अवस्थामा नै किन नहोस् मेरो बर्कतले भ्यायसम्म मैले समाज र राष्ट्रका लागि गरेका योगदान सफा ऐनामा देखिने मुहार जस्तै छर्लङ्ग छन् ।
तर, अहिले जुन प्रकारको झूठो आरोप कपोलकल्पित र भ्रामक ढंगले ममाथि लगाउने प्रयास भएको छ । त्यसलाई अहिलेसम्म मैले समाज र राष्ट्रका निम्ती गरेको सकारात्मक प्रयासहरुमा कालो धब्बा लगाउने नियतका रुपमा लिएको छु । म आफू पदमा रहंदा आफ्नो कार्य क्षेत्र भित्रका संम्पदा, संस्कृतिको संरक्षण, विकास निर्माण तथा सामाजिक सेवामा गरेको योगदान र गर्न खोजेका सकारात्मक प्रयासहरु मैले आफैले व्याख्या गर्ने भन्दा पनि तत् ठाउँका हेर्न र बुझ्न सकिन्छ । हो, मैले यो चर्चा यहाँ उल्लेख नगर्दा पनि हुन्थ्यो होला । तर, म आफूलाई समाजसेवामा समर्पित गर्दाको आनन्द अन्त कतै प्राप्त गर्न सक्दिन ।
राष्ट्र र राष्ट्रियता मेरा लागि प्राण भन्दा प्यारो छ । विदेशका धेरै अवसरहरुलाई त्याग गरेर एक थोपा रगत र एक थोपा आँसु पनि यहि माटोमा चुहाउने दृढ अठोटका साथ देशको माटोलाई आफ्नो हृदय भन्दा प्यारो ठानेर काम गरिरहेको ममाथि राष्ट्रहित विपरीतको यो गम्भीर आरोप लाग्दा म अचम्मीत, मर्माहत र स्तब्ध हुन पुगेको छु । अहिले जुन योजनाबद्ध रुपको झुठो आरोप ममाथि लागेको छ । यस्ले मेरो राजनीतिक र सामाजिक जीवनमा मात्रै होइन मेरो सरल जीवनलाई पनि भताभुङ्ग बनाउन प्रयासका रुपमा मैले लिएको छु । अहिले मैले नखाएको विषका कारण भोग्नु परेको पीडा कसैले पनि भोग्नु नपरोस् भन्न चाहन्छु ।
मलाई आशा छ, मेरो शुभेच्छुकहरु र नेपाली जनता ममाथि लगाइएको यस्ता भ्रामक र कपोलकल्पित आरोपको भ्रममा पर्नुहुने छैन । केही दिनदेखिका यी अकल्पनीय, भ्रामक र कपोलकल्पित आरोपका छर्राले मलाई शिथिल बनाउने प्रयास गरिरहेको छ । तर आफू पूर्णरुपमा निर्दोष भएको हुनाले अन्त्यमा सत्यको विजय हुनेमा म विश्वस्त छु ।
अजयक्रान्ति शाक्य

कमेन्टहरु
Loading...