निर्देशिका विपरित कार्य गर्ने निजी विद्यालयलाई कारवाही नभए कडा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

गन्थन संवाददाता, पोखरा । निजी विद्यालयमा भएको वेथिति अन्त्यका लागि अनेरास्ववियु कास्कीले आवाज उठाएको छ ।

बिहीबार अनेरास्ववियु कास्कीले निजी विद्यालयमा भएको वेथितिका बारेमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखामा ध्यानाकर्षण गराएको छ ।

निजी विद्यालयले निर्देशिका विपरित कार्य गरेको भन्दै अनेरास्ववियुले प्रभावकारी अनुगमन गरि त्यस्ता विद्यालयलाई कारवाही गर्नुपर्ने माग अघि सारेको छ । ३ दिन सम्म पनि माग पुरा नभए कडा आन्दोलनमा जाने अनेरास्ववियु कास्कीका संयोजक सन्तोष पोखरेलले जानकारी दिए ।

पोखरा महानगरपालिकाले जारी गरेको निर्देशन विपरित एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्क वापत एकपटक मात्र अधिकतम २ महिनाको भन्दा वढी शुल्क लिन नपाईने व्यवस्था बमोजिमका भर्ना शुल्क लिईरहेको पाईएकाले तत्काल कारवाही अगाडी वढाउन अनेरास्ववियुको माग रहेको विज्ञप्तीमा बताइएको छ ।

साथै अनेरास्ववियु कास्कीले छड्के अनुगमन गरिरहदा बसको सिट क्षमता भन्दा अत्याधिक बढी विद्यार्थीहरू भरी विद्यार्थी ओसार्ने काम अझै नहेको उनीहरुको भनाई छ । ‘निर्देशिका विपरित विद्यालयले तोकेको ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने वाध्यात्मक परिस्तिथी छ, विद्यार्थीहरू माथी भईरहेको यी तमाम शोषणहरूको अन्त्य गर्न अनेरास्ववियु चाहन्छ । तसर्थ ३ दिन भित्र विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति साथै प्रभावकारी अनुगमन गरी निर्देशिका विपरित कार्य गर्ने विद्यालयहरूलाई कारवाही गर्नका निम्ति अनेरास्ववियु जोडदार माग गर्न चाहन्छ ।’ – विज्ञप्तीमा लेखिएको छ ।

 

पुरा विज्ञप्ती
मिति २०८०/०२/०४
श्रीमान प्रमुख ज्यू
पोखरा महानगरपालिका शिक्षा महाशाखा, कास्की

विषयः ध्यानाकर्षण सम्वन्धमा ।

लाखौँलाख नेपाल विद्यार्थी आन्दोलनको मुलप्रवाह, शैक्षिक परिवर्तनको संवाहक, विद्यार्थीहरूको आस्था र धरोहरको केन्द्र अनेरास्ववियु स्थापना देखि नै विद्यार्थीहरूको अधिकार, सामाजिक न्याय, शैक्षिक बिकृती विसंगती र शैक्षिक व्यापारीकरणका विरुद् निरन्तर रूपमा आवाज बुलन्द गर्दै आईरहेको सर्वविदितै छ ।

मानिसको सर्वाङ्गिण विकासको मेरुदण्डको रूपमा रहेको शिक्षा संवैधानिक अधिकार हो । शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरणले गर्दा शिक्षा पुँजीपती वर्गमा सिमित हुँदै गईरहेको अवस्था छ । एकातर्फ सरकारले प्रर्याप्त ध्यान दिन नसकेका कारण सरकारी सामुदायिक विद्यालयहरूको गुणस्तर घट्न गई विद्यार्थी रित्तिने क्रम बढिरहेको छ भने अर्को तर्फ निजि विद्यालयले यो वा त्यो वहानामा विद्यार्थीहरू सँग उच्च शुल्क लिईरहको अवस्था छ ।

अनेरास्ववियु यी तमाम शैक्षिक वेथितीहरूको अन्त्य गर्न चाहान्छ । शैक्षिक क्षेत्रमा भएका विकृतीहरूलाई टुलुटुलु हेरेर मात्र नबसी बढी जिम्मेवार बन्नका निम्ति स्थानिय तहलाई आग्रह गर्न चाहान्छौं ।

निजी विद्यालयमा भईरहेको वेथिती अन्त्यका निम्ति हामीले पटकपटक पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराईरहेका छौं । तर पनि शैक्षिक सुधारका निम्ति केवल देखाउनका निम्ति मात्रै निर्देशिका जारी भएको आभास भईरहेको छ । आज पोखरा महानगर भित्रका निजी विद्यालयले कानुनतः विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति पाउने व्यवस्था भएकोमा हाल निजी विद्यलयले सो व्यवस्था कार्यान्वयन नगरेको पाईएको छ । पारदर्शी रूपमा महानगर भित्रका निजी विद्यालयहरूले छात्रवृत्तिको विवरण पोखरा महानगरको वेवसाईटमा राख्नका निम्ति हामी जोडदार माग गर्दछौं ।

मिति २०७९/१२/२६ गते पोखरा महानगरपालिकाले जारी गरेको निर्देशन विपरित आज एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्क वापत एकपटक मात्र अधिकतम २ महिनाको भन्दा वढी शुल्क लिन नपाईने व्यवस्था बमोजिमका भर्ना शुल्क लिईरहेको पाईएकाले तत्काल कारवाही अगाडी वढाउन जोडदार माग गर्दछौं । साथै अनेरास्ववियु कास्कीले छड्के अनुगमन गरिरहदा बसको सिट क्षमता भन्दा अत्याधिक बढी विद्यार्थीहरू भरी विद्यार्थी ओसार्ने काम हटेको छैन । निर्देशिका विपरित विद्यालयले तोकेको ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने वाध्यात्मक परिस्तिथी छ, विद्यार्थीहरू माथी भईरहेको यी तमाम शोषणहरूको अन्त्य गर्न अनेरास्ववियु चाहान्छ । तसर्थ ३ दिन भित्र विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति साथै प्रभावकारी अनुगमन गरी निर्देशिका विपरित कार्य गर्ने विद्यालयहरूलाई कारवाही गर्नका निम्ति अनेरास्ववियु जोडदार माग गर्न चाहान्छ । अन्यथा अनेरास्ववियु कडा आन्दोलनमा उत्रने जानकारी गराउँछौं ।

संयोजक

सन्तोष पोखरेल

कमेन्टहरु
Loading...