राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा कार्यक्रम गरेको छ । वडाको समग्र विकासको खाका तयार गर्न वडाले बुधबार बुद्धिजिवी, सुरक्षा निकाय, टोल बिकास संस्था, क्लब, आमा समूह, संघसंस्था तथा स्थानीयको सहभागितामा योजना तर्जुमा कार्यक्रम गरेको हो ।
समग्र वडाको विकासका लागि सडक निर्माण, सडक विस्तार, खेलकुद, कृषि, वातावरण, स्वास्थ्य, सिंचाई, नहर, भलबाढी व्यवस्थापन, अवैधानिक संरचना हटाउने, ट्राफिक व्यवस्थापन, फिर्के संरक्षण, प्राकृतिक सम्पदा संरक्षणसँगै शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकता दिइने वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । साथै वडावासीको सुझावलाई संकलन गरि वडा नं. ५ लाई पोखरा महानगरको नमूना वडाकोरुपमा परिचित गराउने उनको भनाई थियो ।
वडाबाट सबै क्षेत्रबाट सुझाव संकलन गरिने र सोही अनुसार आगामी आर्थिक वर्षका लागि योजना तय गरिने वडा सदस्य गोविन्दप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अहिले सुझाव संकलन भैरहेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरका अपुरा कार्यहरुलाई पुरा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । सिसिटिभि क्यामेरा जडानदेखि बिजुली तार व्यवस्थापनका कार्यहरुलाई पुरा गर्ने योजना रहेको मेयर आचार्यले जनाए । उनका अनुसार २०८० सालभित्रै पोखराका सबै मुख्य मुख्य भागमा सिसिटिभि जडान गरिसकिने छ ।
कार्यक्रममा वडाका निवर्तमान अध्यक्ष धनबहादुर नेपाली, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख डा. सुनिल अर्याल, कृषि विज्ञ गोविन्दराज कोइराला, एमाले ५ का अध्यक्ष एलपी कोइरालाका साथै टोलविकास संस्था, आमा समूह, क्लब, बुद्धिजिवी, संघसंस्था तथा स्थानीयले वडा विकासको लागि सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले गरेकी थिइन् । वडाले अहिले सुझाव संकलन गरि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वडा विकासका लागि योजना बनाइ कार्यान्वयन गर्नेछ ।