
पोखरा । गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारीले गोरखापत्र आफैमा अब्बल जिम्मेवारी बोकेको पत्रिका बनेको बताइन् । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा प्रदेशस्तरीय कार्यालय पोखराले आयोजना गरेको ‘नेपाली पत्रकारितामा गोरखापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
उनले गणतन्त्र र लोकतन्त्र स्थापना गर्नको लागि पनि पत्रिकाले ठूलो योगदान दिएको बताइन् । ‘‘देशकै जेठो पत्रिका कहिले हारेर हुन्छ कि या जितेर हुन्छ, सधै जेठो भूमिका निभाउनु सकोस,’’ उनले भनिन् । लामो इतिहास बोकेको गोरखापत्र पत्रिकाले समय र प्रविधिसँगै फड्को मार्नुपर्ने अवस्था आएको सुझाव उनले दिइन् । ‘‘अझै व्यवस्थित र परिमार्जित हुन जरुरी छ । अर्को वर्षमा प्रवेशसँगै नयाँपनको पनि प्रारम्भ हुनपर्छ,’’ उनले भनिन् । प्रवक्ता अर्यालले गण्डकी प्रदेशमा सञ्चार विधेयक ऐन नबनेको हुँदा त्यसको बारेमा विज्ञहरुसँग बसेर छलफल गर्ने बताइन् । उनले छलफलबाट कुन विधा हेरफेर गर्न पर्नि हो त्यसलाई क्याविनेटमा पेश गर्ने बताइन् ।
प्रेस स्वतन्त्र सेनानी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले सरकारले सञ्चारमाध्यम सञ्चालन गर्नुभन्दा पनि पूर्ण स्वयत्त दिनुपर्ने सुझाव दिए । उनले पूर्ण स्वयत्तको अभ्यासको सुरुवात गर्न सके व्यवसायिकरण बन्न सक्ने बताए । नेपाल पत्रकार महासङघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले भाषाको आधिकारिक सञ्चार माध्यम गोरखापत्र बनेको बताइन् । उनले समयको माग र प्रविधको गतिसँगै रुपान्तरण हुन जरुरी रहेको सुझाव दिइन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले गोरखापत्र आम पाठकले चाहे अनुरुप बन्नुपर्ने बताए । भाषाको स्थापना गरेको संस्थानले नयाँ शैलिलाई पनि आत्मसाथ राख्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङघ कास्की अध्यक्ष विमला भण्डारीले गोरखापत्र नागरिकको प्रतिनिधित्व गर्ने युगपत्र बनेको बताइन् । उनले अझै पनि केही सूचना र जानकारी लिनको लागि गोरखापत्र नै खोजिमा परेको सुनाइन् । पत्रकार तथा प्रध्यापक केशवशरण लामिछानेले गोरखापत्र सरकारको स्वामित्वबाट मुक्त हुन आवश्यक रहेको बताए । उनले परम्परागत ढर्राबाट परिवर्तन हुन जरुरी रहेको सुझाव दिए । पत्रकार भरत कोइरालाले पत्रकारको प्रश्न हराएको प्रति चिन्ता व्यक्त गरे । ‘‘पत्रकारले प्रश्न गर्नी हो तर हराएको छ । कारण, राज्यमुखी र आर्थिक पाटो । मार्केटबाट बढी गाइडेड हुनपर्दा पत्रकारिता धरासायी बनेको छ,’’ उनले भने ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाली पत्रकारितामा गोरखापत्रको गरिमा र महिमा माथि रहेको बताए । उनले गोरखापत्र पत्रकारिताको ज्यूदो इतिहास भएपनि रोलमोडल बन्न नसकेको औल्याए । अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले गोरखापत्रले सरकारका राम्रा कुरामात्र होइन कमिकमजोरीलाई पनि औल्याउनुपर्ने सुझाव दिए । पछिल्लो समय प्रतिस्पर्धाको जमनामा सबल र सक्षम बनि अग्रपङक्तिमा जानको लागि अनुरोध गरे । पोखरा उद्योग वाणिज्य सङका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले समाचार दलगत र गुटबाट मुक्त हुन आवश्यक रहेको बताए ।
कार्यक्रममाथि प्रकाश पार्दै गोरखापत्र संस्थान प्रदेश स्तरीय कार्यालयका प्रमुख रमेश पौडेलले गोरखापत्र देशकै पत्रिका भएकोले यसले धेरै पत्रकार पनि जन्माएको बताए । हिजो दरबारको बारेमा बोल्ने पत्रिका अहिले आम जनता र आवाज विहीनको आवाज बनेको बताए ।