पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै

पोखरा । पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ ।

पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको सो खोप कार्यक्रमले कास्कीका किसानहरु खुसी भएका छन् ।

गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई सो खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेले जानकारी दिएका छन् । गण्डकी प्रदेश सरकारले २०७६÷७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुरुप गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको थियो । गाइ भैसीमा नै हुने अर्को भ्याकुते र चरचरे गरी २६ हजार ३ सय ७१ खोप लगाईएको छ । बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ ।

त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिए । सो कार्यालयले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाएको छ । सो खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको उनको भनाई छ । खोप लगाउनको लागि गाउँगाउँमा किसान सचेत कार्यक्रम भइरहेको छ भने किसानहरुको सोस्फूर्त माग पनि बढिरहेको छ ।

खोपको बारेमा हेम्जा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने निति सरकारले अगाडी बढाउन आग्रह गरे ।

यसैगरी कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेल पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताए । यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको उनको भनाई थियो । त्यसैगरी भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ ।

पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको भनाई रहेको छ ।

कमेन्टहरु
Loading...