पोखरा वडा नं. ९ मा कम्पोष्ट मल बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा–९ को आयोजना तथा वडा कार्यलय पोखरा–९ को सहयोगमा कम्पोष्ट बिनमा मल वनाउने तालिम सोमबार दिइयो ।

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला शसक्तिकरण, लक्षता अभिवृद्धि लगाएतका तालिमहरुको माग गरेमा तथा विकास निर्माणका काममा अग्रसर भएमा आफुले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडेरियाले कार्यक्रमको सफलताको कामना गर्दै तालिममा सिकेको सिपको प्रयोग कसरी भएको छ अनुगमन पनि गर्न जरुरी रहेको वताए ।

पोखरा महानगर कृषि महाशाखा अधिकृत ज्ञानु आचार्यले कम्पोष्ट मल वनाउँदाका फाइदाहरु, घरघरमा निस्कने फोहरबाट कम्पोष्ट मल बनाउने विधि, त्यसको फोहर व्यवस्थापनमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावका वारेमा प्रशिक्षण दिएकी थिइन ।

कृषि विज्ञ वेदकुमार श्रेष्ठले कम्पोष्ट विनमा मल बनाउँदा राख्न हुने र नहुने कुराहरुको बारेमा जानकारी दिदैं झारपात, सुकेका पातपतिंगर, तरकारी तथा फलफुलका टुक्राहरु सकेसम्म मसिनो वनाएर मल भाँडामा राख्नु पर्ने वताउदै मासु, चिल्लो पदार्थ, माछा, दुध लगाएतका पदार्थ कुनै पनि हालतमा हाल्न नहुने वताएका थिए ।

वडा कृषि सञ्जाल पोखरा–६ की संयोजक भावना रानाभाट, कृषि सञ्जाल पोखरा–८ की संयोजक कान्ति पौडेल अधिकारीले आफ्नो घरमा निस्केका फोहरको सदुपयोग गर्दै कम्पोष्ट मल वनाई कौसी खेतीमा प्रयोग गरेका अनुभव व्यक्त गरेका थिए ।

वडा नं. ९ का सचिव कुलराज पौडेल, वडा सदस्य गीता चम्राकार, पुर्व वडा सदस्य राममाया मानन्धर, गण्डकी प्रदेश संग्राहलयकी प्रमुख करुणा राई, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, टोलविकास संस्था समन्वय समिति पोखरा–९ का अध्यक्ष उत्तम जोशी, पत्रकार कृष्ण रानाभाट लगाएतको उपस्थिति रहेको थियो ।

वडा कृषि सञ्जाल पोखरा–९ की अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ति भुजेल मगरले र संचालन सचिव हिरा घलेले गरेका थिए ।

कमेन्टहरु
Loading...