पोखराको मदरल्याण्ड मावि बाट भर्खर १२ पास गरेका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
विश्वका विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि सबैको रोजाइमा परेको उक्त विश्वविद्यालयले कमै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने गर्दछ भन्दै उक्त विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट ५६ हजार ९ सय ३७ विद्यार्थीहरूले आवेदन दिएका थिए भने तीमध्ये एक हजार नौ सय बयालिसले मात्र भर्ना हुने अवसर पाएका छन् र यो आवेदकमध्ये ३.४१ प्रतिशत मात्र हुन आउने जनाइएको छ ।
कलेज तथा विश्वविद्यालयको इतिहासमा सबैभन्दा कम प्रवेशदर भएको दोस्रो वर्षमा पनि आफू छनोट भई सबैले चिनेको प्रख्यात विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाएकामा खुसी भएको सम्राट बताएका छन्।
अध्ययन अवधि सन् २०२७ सम्मको चार बर्से स्नातक तहको उक्त छात्रवृत्ति करिब ५ करोडको रहेको र विषय पछि छान्न मिल्ने कुरा विद्यालयले जनाएको छ ।
कक्षा चारदेखि बाह्सम्म मदरल्याण्डमा अध्ययन गरेका अत्यन्त मिलनसार तथा अनुशासित सम्राट विद्यालय तहमा सधैँ अब्बल विद्यार्थीका रूपमा रहेको र उनले सधैँ अनुसन्धानको शैलीमा अध्ययन गर्ने गरेको विद्यालयले बताएको छ।
यद्यपि सम्राट दस जोड दुईको विज्ञान समूहबाट २०७९ सालको कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिएका साथ गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको बिध्यालयको दावि छ ।