पाेखरा । पोखरा महानगरपालिका वडा नं ३३ बाघमारा रहेको सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले आईतबार सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई कार्यक्रममा बोल्दै समाजसेवी श्री केशर प्रसाद निर्दोषिले सहकारीले पनि सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै गएको बताए । सहकारी समुदायमा आधारित भएर चल्ने भएकाले पनि समाजको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सहकारीहरुले काम गर्दै आएको उनको भनाई छ ।
समुदायमा आधारित भएर सञ्चालन भएका सहकारीमा कुनै किसिमको समस्या पनि नभएको र सदस्यको मन जित्न पनि सफल भएको उनले बताए ।
सुरक्षा पालुवा बचत तथा ऋण सहकारीका कार्यकारी अधिकृत श्री बिष्णु प्रसाद अधिकारीले सहकारीले विगत देखि नै सामाजिक कार्यक्रमहरु गर्दै आएको बताए । महानगरको पिछडिएको क्षेत्रको रुपमा चिनिने दक्षिणि क्षेत्रमा सहकारीले वातावरण क्षेत्रमा पनि काम गरिरहेको उनले बताए ।
सदस्यलाई आर्थिक रुपमा सवल बनाउने देखि विभिन्न समयमा आईपर्ने बिपत्को समयमा पनि सहकारीले काम गरिरहेको उनले बताए । सरसफाई कार्यक्रममा सुरक्षा पालुवा बचत तथा ऋण सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्यहरु, कालिकास्थान बजार व्यवस्थापन समितिका प्रतिनिधी र स्थानीयहरुको सहभागिता रहेको थियो ।