पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई सम्मान गरेको छ ।
मञ्च र एकेडेमीले उनीहरुलाई एक कार्यक्रमका विच छुट्टा–छुट्टै नगद सहित सम्मान गरेको हो । गत चैत्र २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी (बागलुङ)लाई मञ्चले नगद २० हजार सहित सम्मानपत्रले सम्मानित गरेको छ ।
त्यसै गरी यू–१९ विश्वकपमा पु¥याउन भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (कास्की), अर्जुन कुमाल (कास्की) र दिपकराज डुम्रे (नवलपुर)लाई जनही नगद ५ हजार नगद र सम्मानपत्रले सम्मान गरेको छ । उनीहरुलाई पोखरा क्रिकेट एकेडेमीले चारै जना खेलाडीलाई जनही नगद ५÷५ हजार प्रदान गरी सम्मानित गरेको छ ।
आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए भने सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीहरुलाई मञ्चका कार्यबाहक अध्यक्ष दिल बहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सल्लाहकारहरु अशोक पालिखे, नारायण कार्की, मञ्जुलमान श्रेष्ठ, क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुवंर, उपाध्यक्ष सन्तोष श्रेष्ठलगायतले नगद र सम्मानपत्रले सम्मान गरे ।
सो अवसरमा बोल्दै मञ्चका कार्यबाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन खेलेको भूमिका गर्वको विषय रहेको बताउँदै भने–“अब उहाँहरू व्यक्तिगत हुनुहुन्न । सार्वजनिक व्यक्तित्व भइसक्नुभयो । अब उहाँहरुमा जिम्मेवारी बढेको छ ।“ पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै पोखरा रंगशालासहितका क्रिकेट स्टेडियमहरु यथासिघ्र स्त्तरोन्ती हुन सके पर्यटक खोज्न हिड्न नपर्ने बताए । उनले खेलकुदका संरचना निर्माण गर्न राज्यलाई दवावमुलक कार्यक्रम गर्नुपर्ने औल्याउँदै त्यसका लागि मञ्च सहयोग गर्न तत्पर रहेको उल्लेख समेत गरे ।
कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जिवनले दिएको संस्कारलाई विर्सन नहुने बताए । “क्रिकेटले यतिबेला ठूलो उपलव्धी हासिल गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो । यसलाई कायम गर्न खेलाडीले आफ्नो अनुशासनलाई कायम गर्दै आफूलाई समाजको विकासमा रुपान्तरणमा अघि बढाउनु पर्छ,” उनले भने ।
मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासान संगै प्रशिक्षकहरुको निर्देशनलाई पालना गर्दै अघि बढ्नु पर्ने बताए । उनले खेलकुदको माध्यमबाट पोखरालाई पर्यटनको हवको रुपमा विकास गर्न पोखरा विमानस्थलको जग्गालाई क्रिकेट स्टेडियमको रुपमा विकास गर्न आवश्यक रहेको कुरा औल्याए ।
सो कार्यक्रममा पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुंवरले नेपालले प्राप्त गरेको सफलताले गौरवान्वित भएको बताउँदै खेलाडीको सम्मानमा आफूहरु सरिक भएको बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषीराम गौतम, नेपाल क्रिकेट संघ गण्डकीका अध्यक्ष देवन्सन प्रजु, कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतको सहभागिता रहेको थियो ।