नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट अभियान पार्टी सुदृढिकरणको अभियान भएको बताएका छन् ।
‘नेता र कार्यकर्ताहरुको सम्बन्धलाई कसिलो बनाउँदै पार्टीलाई सुदृढ र बलियो बनाउने अभियान हो’, उनले भने ।
मिसन ग्रासरुट अभियान अन्तरगत नेकपा (एमाले) रुपा गाउँपालिका वडा नं ५ कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आगमी निर्वाचनमा एमालेको एकल बहुमत सहितको बलियो जितका लागी सबै नेता कार्यकर्ताहरु अहिलेबाटै खटिनुपर्ने बताए ।
पार्टी अध्यक्ष केपी ओलीले सबै कम्युष्टिहरुलाई एक बनाएर बलियो कम्युनिष्ट शक्ति बनाउने प्रयत्न गरेपनि नामका मात्रै कम्युनिष्टहरुले कांग्रेस बोकेर हिँडेको उनको भनाई थियो ।
‘केपी ओलीले त कम्युनिष्ट बलियो बनाउँ भनेर प्रयत्न गर्नुभएकै हो की तर नामका मात्रै कम्युनिष्टले कांग्रेसको पछि लागेर हिँडे, अब एमाले एक्लै बलियो कम्युनिष्ट शक्तिको रुपमा अगाडी आउने गरी लाग्नुपर्ने दायित्व हामी सबैको छ’,उनले भने ।
व्यक्तिलाई चित्त नबुझ्दा पार्टी विरुद्धका गतिविधी गर्ने, सार्वजनिक टिप्पणी गर्ने जस्ता प्रवृत्तिहरु बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप बन्द गरिनुपर्ने उनले बताए ।
‘व्यक्तिका रिस वा कारणले पार्टीलाई क्षती हुनेगरि लाग्ने जो कोही पार्टी सदस्यको लागी लायक हुदैन, पार्टी सदस्य लिएपछि काम, कर्तव्य र अधिकारबारे सचेत हुनुपर्छ यो सबैमा लागू हुन्छ’,उनले भने ।
कार्यक्रममा लामो समयदेखी निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका ज्येष्ठ नागरिक , सेल्टरदाताहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।