म्याराथनमा सहभागी हुन आएका चन्द्रप्रकाश गुरुङबाट भलिबल टिमलाई खेलकुद सामाग्री सहयोग

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रीय म्याराथनमा सहभागी हुन अष्ट्रेलियाको डार्विनबाट गृह नगर पोखरा आएक भलिबल प्रेमी चन्द्रप्रकाश गुरुङ भलिबल टिमलाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।

गुरुङले पोखरा वडा नं. २३ को भलिबल टिमलाई भलिबल नेट र भलिबल सहयोग गरेका हुन् । भलिबल अष्ट्रेलियाको लेभल १ प्रशिक्षक तथा लेभल २ स्तरका रेफ्री गुरुङ भर्खरै सम्पन्न मेयरकपको फाइनल खेल हुदै गर्दा अतिथिबाट वडा २३ को टिमलाई कोच गर्न पुगेका थिए । उक्त मेयरकपको उपाधि महिला र पुरुष दुवै तिर वडा नं २३ ले नै हात पारेको थियो ।

प्रतियोगिताको केहि हप्ता पछि वडा कार्यालयमा खेलाडिहरुलाई स्वागत सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा बिशेष अतिथिको रुपमा पुगेका गुरुङले वडाको टिमले नियमित खेल्ने भलिबल कोर्टमा पुग्दा अत्यन्तै जीर्ण अवस्थामा देखेपछि खेल सामाग्री प्रदान गरेका थिए ।

चन्द्र प्रकाश गुरुङ नेपालमा रहँदा पनि बिभिन्न टीममा क्यप्टेनको रुपमा भलिबल खेलेका थिए । सन् २००६ मा अष्ट्रेलिया गएपश्चात पनि आफ्नो भलिबल यात्रलाई निरन्तरता दिँदै आएका छन् । उनी हाल अष्ट्र्लियन आर्मीमा कार्यरत छन् । उनी अष्ट्रेलिया डिफेन्सफोर्स उत्तरी राज्यको पुरुष टिमको प्रशिक्षक र कप्तान हुन् भने महिला टिमको प्रशिक्षक हुन् । त्यसै गरि डार्विन भलिबल एसोसिएशन अफ अष्ट्रेलियाको कमीटी सदस्य हुन् ।

अष्ट्रेलियामा रहेको नेपाली समुदाय बीच हुने भलिबल प्रतियोगिताहरुमा पनि गुरुङले निरन्तर बिशेष योगदान पुराईरहेका छन्। अडेलेडको बसाईको बेला सन् २०१७ मा जब नेपाल सरकारले भलिबललाई राष्ट्रीय खेल घोषणा गर्यो त्यही सालबाट तमु धिं अडेलेडले आयोजना गर्ने ल्होछार पर्वमा भलिबल पनि समाबेश गर्दै टुर्नामेण्ट डाइरेक्टरको ज़िम्मेवारी निभाईरहेका छन् । अडेलेडबाट बाहिर सरुवा भएपनि हरेक ल्होछारमा भलिबलकै लागि उनी अडेलेड पुग्ने गर्छन् ।

त्यसैगरि डार्विनमा पहिलो पटक बिभिन्न देशहरु बीच प्रतिस्पर्धा हुने गरि मल्टिकल्चरल भलिबल कपको आयोजना पनि उनले नै गरेका थिए । डार्विनको नेपालीबीच हुने नेपाली भलिबल कपमा आफ्नो टिमलाई पहिलोपटक दोश्रो र दोश्रो बर्षमा प्रथम बनाउन सफल भए ।

बिदेशमा बसेपनि आफ्नो गाउँघरमा हुने विभिन्न तहका खेलहरुमा पनि उत्तीकै महत्व दिँदै सहयोग गर्दै आएका छन् ।

भलिबलकासाथै चन्द्रप्रकाश दौडमा पनि अत्यन्तै रुची राख्छन् । उनी अष्ट्रेलियाको पार्क रनमा नियमित दौडन्छन् र स्वयंसेवक भई आयोजकलाई पनि सघाईरहेका छन् । सात वटा भन्दा बढी बिभिन्न स्थानमा पार्क रन दौडेका उनी हालसम्म १५० जती पार्क रन दौडिसकेका छन् ।

डार्विनमा हुने सबभन्दा ठुलो दौड एनटि सिटी टु सर्फमा नेपाली हरुलाई सहजरुपले सहभागी गराउन बिगत ४, ५ बर्षदेखि टिम नेपालको स्थापना गरी संस्थापक संयोजक रुपमा नेतृत्व गर्दै आएका छन् । गत बर्ष करीब २६ जना नेपालीलाई एनटि सिटी टु सर्फ दौडमा सहभागी बनाउन सफल भए ।

१७औ श्रृखंलाको सफल पोखरा अन्तर्राष्ट्रीय म्याराथनबाट उनलाई अष्ट्रेलियाको संयोजकमा नियुक्त गरिएको छ । गत फागुन ६ गते सम्पन्न उक्त म्याराथनमा ४२.१९५ किमि दुरी पार गरी जीवनको पहिलो फुलम्याराथन दौडे । दर्जनौ हाफ म्याराथन दौडिसकेका गुरुङलाई आफनै गृहनगरमा फुल म्याराथन दौडन पाउदा अत्यन्तै गौरव लागेको बताएका छन् । आफुसँग अष्ट्रेलियाबाट १० जना सहभागी ल्याएका गुरुङले अर्को बर्ष अष्ट्रेलियाबाट धेरै भन्दा धेरै सहभागीहरु ल्याउने बताए ।

उनी भलिबल र दौड क्षेत्रमा सधै लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

 

 

कमेन्टहरु
Loading...