पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कास्कीमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले तालमेल गरेर जाने भएका छन् ।
यहि चैत ५ गते हुने स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल (क्रान्तिकारी) बीच तालमेल गरेर जाने समझदारी भएको दवै संगठनका माउ पार्टीले गरेका छन् । यसका लागि एमाले कास्की इन्चार्ज कृष्णबहादुर थापा र माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर समेत गरिसकेको स्रोतले जनाएको छ ।
चैत ५ मा कास्कीको पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, वन विज्ञान संस्थान पोखरा र विन्ध्यावासिनी संस्कृत विद्यापीठमा निर्वाचन हुँदैछ ।
पदको भाववण्डाको विषयमा छलफलको तयारी भैरहेको श्रोतले जनाएको छ । साथै एमाले र माओवादीले अन्य वामपन्थी राजनीतिक शक्तिलाई पनि साथमा आउन आह्वान गरेको छ ।