गल्फ टुरः बिहीबार सुबाशलाई अग्रता

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगितासूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबाश तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन्।

 

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे। भुवनले आज २-ओभर ७१ स्कोर गरे र समग्रमा इभन-पार १ सय ३८ को कार्ड सहित दोस्रो स्थानमा झरे।

 

समग्रमा १-ओभर १ सय ३९ स्कोर सहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए।

 

नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थान बाँडे। शुक्रले इभन-पार ६९ र दलले २-ओभर ७१ स्कोर गरे। समग्रमा ५-ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १-अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५-ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७-ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन्।

 

समग्रमा ८-ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्काधन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरुपमा नवौं स्थानमा छन्।

 

३६ होलको समाप्तीमा १६-ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन्। प्रोफेसनल खेलाडीहरु दीपक आचार्यसुर्यप्रसाद शर्मादिनेश प्रजापतिरवि खड्काशिवराम पौडेलनीरज तामाङभुबहादुर गुरुङटंकबहादुर कार्कीकृष्णमान राजबाहककमल तामाङप्रदीपकुमार लामासबिन सापकोटाबलभद्र राई तथा एमेच्योर गल्फर अजित बिकेसुरेश तामाङमहेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन्।

 

पहिलो दिन ३-ओभरको प्रदर्शन सहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुबाशले दोस्रो दिन लय समाते। उपाधि रक्षा गर्ने सम्भावनालाई जिवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीका विरूद्ध चार बर्डी प्रहार गरे। १०औं१३औं१५औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३२ मा सकाए।

 

भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३६ मा र १०औं होलको बोगी विरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे‌।

 

रामे मगरले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले दोस्रोछैटौंआठौं होलमा एक-एक सट बचाए। चौंथो र नवौं होलमा बोगी खेपे। यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेपनि १२औं र १६औं होलमा एक-एक सट खेर फाले। सञ्जयले फ्रन्ट नाइन इभन-पारमा सकाउने क्रममा पहिलो र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरेपनि पाँचौ होलमा डबल बोगीको सामना गरे। यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए।

 

५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजारउपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ।

कमेन्टहरु
Loading...