काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ ।
अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ । ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने ।
बडाल नेतृत्वको पूर्व कमिटी भङ्ग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्द सत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।
अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चयन हुनेछन् । जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन आज समापन हुनेछ ।