गन्थन संवाददाता, पोखरा । पोखरा महानगरले माघ २३ गते देखि पोखराको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ पूर्णरुपमा निषेधको निर्णयबाट पछाडी हटेको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशिल संघ संस्था तथा सरोकारवालाहरुको व्यापक दवाव आएपछि महानगरले सवारी पार्किङ निषेधको निर्णयबाट पछाडी हट्दै क्रमिकरुपमा पार्किङलाई व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको हो ।
हाललाई मुख्य बजारी क्षेत्रमा सवारी पार्किङलाई क्रमिकरुपमा व्यवस्थापन गर्दै लैजाने र पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरुसँगको व्यापक छलफल गरि आगामी योजना तय गरिने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले गन्थन डटकमलाई जानकारी दिए ।
माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पोखराको पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई माघ २३ गतेदेखि पूर्णरुपमा निषेधको निर्णय गरेको थियो ।