पोखरा । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसर पारेर सरस्वतीपूजा तथा अक्षरारम्भ कार्यक्रम विद्यालय प्राङ्गणमा बिहीबार एक समारोहबिच सम्पन्न भएकाे छ।
विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरूद्वारा सामूहिक रूपमा सरस्वती वन्दना वाचनसहित विशेष पूजा, पाठ र आराधाना गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा अधिकांश विद्यार्थी, अभिभावक र शिक्षककर्मचारीहरूको उपस्थिति रहेको थियो।
विद्यालयका दस जोड दुई व्यवस्थापन समूहका संयोजक तथा नेपाली शिक्षक गुरु इन्द्रप्रसाद पौडेल र शिक्षक आनन्द शर्माले पूजा आराधानामा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा कक्षा ६ मा अध्यनरत विद्यार्थीद्वय विशेष बराल कक्षा ६ र स्वस्तिका बुढाथोकी कक्षा ४ ले कर्ताकाे भूमिका निर्वाह गरेका थिए।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनुअघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन्। अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आफ्ना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर रचनापूर्व सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मिठो नम्र, शुभ गीत कविता स्तवनको रूपमा प्रस्तुत गर्ने गरेको विश्वास पाइन्छ।