पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताएका छन् ।
पोखरा ३२ मा मङ्गलबार घरदैलो र मतदाता भेटघाटका क्रममा उनले त्यस्तो बताएका हुन् ।
उनले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताए ।
उनले स्थानीय जनताको आवश्यकता अनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने उल्लेख गरे ।
‘जहाँ जे आवश्यकता छ प्राथमिकताका आधारमा त्यहि गर्छु, उनले भने– यसले आवश्यकतालाई सम्बोधन गर्ने छ र स्थानीय खुशी हुनु हुनेछ ।
उनले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताए ।
कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पारे ।
नेता बरालले राजनीतिलाई नयाँ ढंगबाट सोच्नुपर्ने भन्दै राजनीतिलाई प्रेम र सद्भावसँग जोड्नुपर्ने आवश्यकता औल्याए ।
उनले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
उम्मेद्बार बराल बुधबार पोखरा २६ मा घरदैलो र मतदाता भेटघाट गर्नु हुनेछ ।