आस्था होईन मत बदल्नुहोस्, राप्रपाले जित्दा फाइदैफाइदा छः राजेन्द्र लिङ्देन

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आस्था जुन पार्टीमा भएपनि देशको अवस्था सुधार्नका लागि यो पटक राप्रपालाई मत दिन मतदाताहरुलाई आग्रह गरेका छन् । राप्रपाले देशको हितमा काम गर्ने र भ्रष्टाचारलाई शून्य बनाउने उल्लेख गर्दै मतदाताले यो पटक मत परिवर्तन गरेमा ठुला भनिएका दलसँगै तिनका नेताहरुको नियत पनि परिवर्तन हुने लिङ्देनले दाबी गरे ।

शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले एकपटक तर यहि पटक राप्रपालाई देशको नेतृत्व गर्ने जिम्मा दिन जनतासँग आग्रह गरे । ‘हामीले तपाईहरुको पार्टी छोड्नुस् पनि भन्दैनौँ । तपाईको आस्था बचाईराख्नुहोस् । तर देशको अवस्थालाई सुधार्नका लागि एकपटक र यहि मौकामा राप्रपालाई मत दिएर जिताउनुहोस् ।’ लिङ्देनले भने -‘यसो गर्दा देशको अवस्था पनि सुध्रने । र, ठुला भनिएका दलसँगै तिनका नेताहरु पनि सुध्रने ।’ लिङ्देनले राप्रपालाई जिताउँदा जनतालाई फाइदैफाइदा हुने भएकोले दायाँबायाँ केही नसोँच्न आग्रह गरे ।

साथै अर्को प्रसंगमा राप्रपाका कास्की जिल्लाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको बारेमा बेलिबिस्तार लगाउँदै आफ्नो पार्टी सबैभन्दा समावेशी र युवाहरुको भावना बुझ्ने पार्टी भएको उनले तर्क गरे । ‘तपाईहरु हामीले उठाएका उम्मेदवारहरुलाई नै हेर्नुहोस् । प्रत्यक्षमा हाम्रा होनहार युवा उम्मेदवारहरुलाई चुनावमा अगाडि सारेका छौँ । र, समावेशीतर्फ पनि हामीले सबैको भावनालाई समेटेका छौँ ।’ उनले भने -‘त्यसैले राप्रपा अहिलेको सबैभन्दा बढि प्रगतिशील पार्टी भएको पनि म दाबी गर्छु ।’

पोखराको पृथ्वीचोकमा भएको राप्रपाको चुनाव विशेष आमसभालाई लिङ्देनसँगै चर्चित अभिनेत्री नेपाली काँग्रेसका संस्थापक वीपि कोईरालाकी नातिनी मनिषा कोईरालाले समेत सम्बोधन गरेकी थिईन् ।

कमेन्टहरु
Loading...