गन्थन संवाददाता, पोखरा / कास्कीमा सत्तारुढ गठबन्धनका चार उम्मेद्वारले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । प्रतिनिधिसभा चुनाव लड्न लागेका एक र प्रदेश सभा चुनाव लड्न लागेका गठबन्धनका तीन उम्मेद्वारले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।
आफ्नो क्षेत्र छोडेर अर्कै ठाउँमा लड्न लागेकाले एकीकृत समाजवादीका एक र माओवादी केन्द्रका तीन जनाले आफैलाई मत हाल्न पाउने छैनन् । कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेश सभाका ६ मध्ये प्रतिनिधिसभामा गठबन्धनबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक÷एक सिट बाँडेका छन् । प्रदेश सभामा कांग्रेस र माओवादीले बराबर ३/३ सिट लिएका छन् ।
कास्की २ मा गठबन्धनबाट उम्मेद्वार रहेका एकीकृत समाजवादीका श्रीनाथ बरालले आफैँलाई मत हाल्न पाउने छैनन् । उनको निर्वाचन क्षेत्र कास्की १ हो तर कास्की २ बाट टिकट पाएका हुन् । बरालको घर पोखरा महानगरपालिका १३ अमलाचौर हो । उनको मतदाता नामावली कास्की १ को रतनपाण्डे माविमा छ । बराललाई चुनाव जित्न सहज छैन किनकि उनको प्रतिस्पर्धा नेकपा एमालेकी विद्या भट्टराइसँग हुँदैछ । कास्की २ एमालेको राम्रो पकड भएको क्षेत्र मानिन्छ । गण्डकी प्रदेश सभाका निवर्तमान सांसद माओवादीका दीपक कोइरालाले पनि आफैँलाई मत दिन पाउने छैनन् ।
पोखरा १४ का उनी कास्की १ (क)मा उम्मेद्वार छन् । पोखरा १४ कास्की १ (ख)मा पर्छ । मतदाता नामावली पोखरा १४ को रामेश्वरी माविमा भएकाले कोइरालाले आफैँलाई मत हाल्न पाउँदैनन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेद्वार कोइराला कास्की १ (क)बाटै विजयी भएका थिए । कोइरालाको मुख्य प्रतिस्पर्धी एमाले नेता खगराज अधिकारी हुन् । मुख्यमन्त्री हुने दौडमा रहेका अधिकारीलाई अर्कै क्षेत्रको व्यक्ति प्रतिस्पर्धामा आएपछि झनै सहज हुने देखिन्छ ।
अर्का उम्मेद्वार माओवादीका विश्वप्रकाश लामिछानेले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । उनी गठबन्धनबाट कास्की २ (क)मा उम्मेद्वार छन् । पोखरा १० गोरखा लाइनका बासिन्दा लामिछानेको मतदान केन्द्र कास्की १ (ख)को कालिका माविमा पर्छ । लामिछानेसँग एमाले केन्द्रीय सदस्य भीम कार्की चुनाव लड्दै छन् । गठबन्धनबाटै कास्की ३ (क)मा उम्मेद्वार रहेका माओवादीका दुर्गादत्त भण्डारी पनि टुरिष्ट उम्मेद्वार हुन् । उनको मत हाल्ने केन्द्र कास्की ३ (ख)को माछापुच्छ«े मावि ढिकुरपोखरी हो । भण्डारीको प्रतिस्पर्धी एमाले नेता गणेशमान गुरुङ छन् । जनजातिको बाहुल्यता रहेको कास्की ३ (क)मा गणेशमानलाई टुरिष्ट उम्मेद्वार आएपछि झनै सहज हुनेछ ।