पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । मेयर आचार्य शनिबार बिहान ग १ झ २२३ नम्बरको सार्वजनिक नम्बर प्लेटको गाडी लिएर सत्तारुढ गठबन्धनको कास्की क्षेत्र नम्बर २ को निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा पुगेका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेद्वारको पक्ष वा विपक्षमा प्रयोग गर्न मिल्दैन । निर्वाचन आचारसंहिताको परिच्छेद २ को दफा ४ मा भनिएको छ, ‘सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने ।’
त्यसबाहेक आचारसंहिताकौ परिच्छेद ३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारी कुनै राजनीतिक दल, उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन मिल्दैन । आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयासम्म जरिवाना हुने व्यवस्था निर्वाचन आयोग ऐन २०७३ को दफा २३ मा छ ।