बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौः पर्यटन व्यवसायी

पोखरा / वित्तिय चर्को व्याजले व्यवसाय धान्न नसक्ने भन्दै एक अंकमा झारेर ऋण प्रवाह गर्न पर्यटन ब्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको विजया दशमी तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भुकम्प र कोरानाको मारले व्यवसायमा संकट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अंकको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताएका हुन् । उनले पछिल्लो समय वित्तिय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक संकट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितीमा पुर्याउन लागेको बताए ।

निकै ठुलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सृजना गरेर व्यवसायीलाई सहुलियत रुपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले आग्रह गरे । उनले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्री नीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे । यस क्षेत्रका समस्यालाई यथासक्य सम्बोधन गर्न उनको आग्रह थियो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । उनले महिलाको आर्थिक सशक्तिकरणका लागि संघले पर्यटन व्यवसायी महिलाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औल्याइन् । पर्यटन क्षेत्रमा महिलाको उपस्थिती र सहभागिता बढ्दै गएपनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कुनै कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मुल्यांकन गरेर फोरमहरु उपलब्ध गराउनु पर्ने धारणा राखिन् । उनले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गरिन् ।

कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफका कोषाध्यक्ष लक्ष्मि लामिछाने, कार्यक्रम संयोजक माया सुवेदी लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका सदस्य र पर्यटन सम्बद्ध संघ संस्थका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...