पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी भित्र हुने अन्तरघात र गुटबन्दीलाई समाप्त पार्नुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेशको प्रशिक्षणमा बोल्दै उनले एकले अर्कोलाई खुल्याउने, लोभ लालसा राख्ने शैली मौलाउदै भन्दै पार्टी भित्रको अराजकतालाई अन्त्य गरिनुपर्ने बताए । एमाले हार्दा देश हार्ने भन्दै राष्ट्रीयतालाई बलियो बनाउन देशलाई हार्न नदिन एमालेको जित आवश्यक रहेको उनको भनाई थियो ।
पार्टी भित्र कसलाई जिताउनुपर्ने भन्दा पनि कसले जित्छ भन्ने बाटोमा अगाडी बढ्दा अवसरवाद बढ्ने हुँदा जित्ने मात्रै नभई टिक्ने पात्रको आवश्यकता रहेको नेता अधिकारीले बताए । ‘कुनैपनी गुनासो नराखी पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ’, उनले भने ।
पार्टी सदस्यहरु पार्टीको जग भएको बताउदै उनले जनसंगठन भित्र अनुशासनलाई पालना गर्ने , पार्टी दस्तावेज अध्ययन गर्ने संस्कारको बिकास हुनु आवश्यक रहेको बताए । जनताको बहुदलीय जनवादलाई ब्यबहारिक जिवनमा कार्यन्वयन गर्नु हरेक नेता र कार्यकर्ताहरुको दायित्व रहेको अधिकारीको भनाई थियो ।