सरोज गोपाल स्मृति साङ्गीतिक साँझको तयारी पुरा

पोखरा / कालजयी गीतहरुका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसको अवसर पारेर सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजना हुन लागेको छ । स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीतहरुमा सङ्गीत बद्घ गर्नुका साथै आफ्नो मौलीक आवाज दिएका थिए ।

देउराली उकाली चढेर ….. नक्कलीलाई भगााइ लग्यो झिल्केले….दाइको घर कहाँ हो कहाँ ….. करोडौं मुटुहरुको ढुकढुकी ………जस्ता दर्जनौं चर्चित लोक तथा राष्ट्रिय गीतले गर्दा आम नेपालीले सम्झीरहने नाम हो सरोज गोपाल बज्राचार्य । आज फेरी तिनै चर्चित गायक सरोज गोपाल बज्राचार्यको स्मृतिमा पोखरेली युवा साँस्कृतिक परिवारले “सरोज गोपाल स्मृति सांगीतिक साँझ” को आयोजना गर्न लागेको छ । २००९ साल मंसीर २ गते जन्मेका गोपाल बज्राचार्य भएपनि गीत गाउन थालेपछि उनले सर्जकहरु जातपातभन्दा माथि हुन्छ भन्दै आफ्नो नामै फेरेर सरोज गोपाल बनाएका थिए । सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो ।

नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । माछापुच्छ«े एफएममा स्टेशन प्रमुखका रुपमा काम गरेका थिए । उनले गायीका श्रीमती बाबा राणासँग मिलेर पोखरामै ’सरोज बाबा युगल साँझ’ मा गीत गाएका थिए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा बज्राचार्यको निधन भएको थियो ।

पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष समेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृतिमा असोज १ गते दिउँसो २.३० बजेबाट पोखरा उधोग वाणिज्य संघको हलमा हुने साङ्गीतिक साँझको सम्पुर्ण तयारी पुरा भएको परिवारका अध्यक्ष मोती भुजेलले बताए । सङ्गीतकार शुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा गायक गायीकाहरु तारा थापा, बाबा राणा,कविता आलेमगर, रामभक्त जोजीजू, बिनोद बानीया, इतु जोजीजू, बिनित जोजीजू, फिरोज गोपाल बज्राचार्य लगाएतको सुमधुर स्वरमा सरोज गोपालका गीतहरु सुन्न सकिने छ ।

कमेन्टहरु
Loading...