गन्थन संवाददाता, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो २७ दिनमा मादक पदार्थ सेवन विरुद्ध ३ हजार २ सय ८६ जना सवारी चालकहरुलाई कारवाही गरेको छ । कास्की प्रहरीले दिएको जानकारी अनुसार भदौ १ देखि २७ गतेसम्म ३ हजार बढी चालकले मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको पाइएको हो ।
त्यसमध्ये कारवाहीमा परेको संख्या चार पाङ्ग्रे १४०४ रहेको छभने दुइपाङ्ग्रे १८८६ रहेको छ । यसमा पनि २५ जना चालकलाई मादक पदार्थ सेवन गरि प्रहरी चेकिङबाट जबरजस्ती भगाएको, चेकिङमा रहेको प्रहरीलाई ठक्कर दिएको, सवारी दुर्घटना गराएको, प्रहरीसँग अभद्र व्यवहार गरेका कारण सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार बस चालक २ जना, विद्यालयको बस चालक १ जना, ट्रकरट्याङकर चालक ७ जना, ट्याक्सी चालक ५ जना, एम्बुलेन्स चालक ४ जना, हाईस चालक १ जना, जीप चालक १ जना र मोटरसाइकल चालक ४ जनालाई मुद्दा चलाइएको हो ।
मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा आफ्नो र अरुको ज्यान जोखिममा रहने हुँदा मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अनुरोध समेत गरेका छन् ।