बाँदरलाई बाली कुर्न दिएर गल्ती भो : ओली

२३ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस-एमालेले पनि गल्ती गरेको बताउनुभएको छ । सरकार बिरुद्ध आन्दोलनको क्रममा मंगलबार कैलालीको धनगढीमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले एमाओवादीबाट लोकतन्त्रको रक्षा हुनै नसक्ने बताउनुभयो ।

‘माओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनुजस्तै हो’ ओलीले व्यंग्य गर्दै भन्नुभयो-’बाँदरलाई बाली कुर्ने जिम्मा दिएर कांग्रेस-एमालेबाट पनि गल्ती भयो ।’ सम्बोधनको अधिकाँश समय माओवादीको बिरोध गरेका ओलीले उसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दावी गर्नुभयो । ओलीले सडक आन्दोलनको बलबाटै सरकार ढाल्ने पनि बताउनुभयो ।

एमाओवादीको जारी महाधिवेशनले सहमतिको कुनै सूत्र ल्याउन नसक्ने ओलीले दावी गर्नुभयो । ‘नेतृत्व उही हुने हो, सरकारमा उसैगरी हालीमुहाली गर्न खोज्ने हो’ ओलीले भन्नुभयो-’पछाडि बस्ने कुर्सी, अगाडि खाने थाल, अघिपछि जताबाट पनि फाइदा खोज्नेहरुबाट सहमतिको के आशा गर्ने ?’ माओवादीले भनेको उत्पादनको नीति मोहन बैद्यसित दोहोरी खेल्नु बाहेक अरु केही नभएको ओलीले टिप्पणी गर्नुभयो । ‘बिद्रोह भनिरहेको नेकपा-माओवादीलाई टक्कर दिन ल्याएको गफ मात्रै हो, अरु केही होइन’ ओलीले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. रामशरण महतले पनि एमाओवादीको उत्पादन नीति गफ मात्रै भएको टिप्पणी गर्नुभयो । ‘उद्योगधन्दा तहसनहस बनाउने र खेतीयोग्य जमीन कब्जा गर्नेहरुले कसरी उत्पादन गर्न सक्छन्’ महतले आरोप लगाउँदै भन्नुभयो-’उत्पादन भनेको मात्रै हो, केही हुँदैन ।’ उहाँले देशलाई यो अवस्थामा ल्याउन माओवादी दोषी भएको भन्दै वर्तमान सरकार नहटाउँदासम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो ।

वर्षाका कारण आमसभा ढिलो गरी शुरु भएको थियो । सभाअघि धनगढीका बिभिन्न ठाउँबाट जुलुस प्रदर्शन गरिएको थियो । एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार सहमतिको बाधक भन्दै विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सडक आन्दोलनकै बलमा वर्तमान सरकार ढालेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।c. onlinekhabar.com

कमेन्टहरु
Loading...