प्रदीप खड्का भन्छन्- व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’ 

 

प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिलभन्दा बाहिरका प्रदीप फरक छन् ।

उपत्यकाको ललितपुरमा हुर्किएका प्रदीपले जुम्लामा प्रकाशले बिताएको जीवन कल्पनासमेत गरेका थिएनन् । ‘म एसएलसी दिँदासम्म धरहरा पनि आएको थिइन् । ललितपुरमा हुँदा पनि म त्यही सेरोफेरोमा अल्झिएको थिए । त्यसैले हुन सक्छ मलाई उपत्यकाभन्दा बाहिरको जीवन क्यारेक्टरले नै जिउने अवसर दिएको छ,’ प्रदीपले भने । उनले यसपटक क्यारेक्टरलाई एडप्ट गर्न निकै मेहनत गरेका छन् । अफर भएका केही फिल्म छाडेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकार बन्ने प्रयास गरेका छन् । यो सब उनलाई कथावस्तुले दिएको आकर्षण हो ।

‘मलाई फिल्मको आइडिया सुन्दा नै निकै मन परेको थियो । त्यसैले म त्यो क्यारेक्टरलाई गर्न चाहन्थें । तर, आफूलाई प्रकाश बनाउन मलाई सहज थिएन,’ उनले भने । निर्देशक दिनेश राउतसँग अन्य प्रोजेक्टका लागि भेटघाट बाक्लिँदै गर्दा उब्जिएको आइडिया हो ‘प्रकाश’ । प्रदीपले आफूलाई फरक रूपमा प्रस्तुत गर्न आँट गरे । उनको गतिविधि र फिल्म चेतना देखेर निर्देशक राउत शीर्ष भूमिका दिन तयार भए । तर अभिनय कक्षा लिने समयमा भने प्रदीपलाई डर पनि लाग्यो । आफ्नो स्टारडम पनि जाने अनि क्यारेक्टर पनि कमजोर देखिने हो कि ? भन्ने डर उनमा थियो ।

‘मैले गर्न सकिनँ भने कसैको लगानी डुब्छ । मेरो करियर पनि डुब्न सक्छ । किनकि यसअगाडि मैले चकलेटी लभरब्वाईको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आइरहेको थिएँ,’ उनले भने । यद्यपि निर्देशक राउतलाई प्रदीपप्रति भरोसा थियो । त्यसैले उनले प्रदीपलाई स्टारडमको छायाँभन्दा बाहिर निकालेर प्रकाश बनाउने प्रण गरे ।

आखिर निर्देशक राउतले त्यस्तो के देखेका थिए त प्रदीपमा ? उनले जवाफ दिए, ‘फिल्मप्रतिको चेतना’ । प्रदीपले हेर्ने फिल्म, बुझेको फिल्म उनले गरिरहेको भन्दा फरक थियो । त्यही कुराले निर्देशक राउतलाई स्टारमा कलाकार देखायो । ‘उसले फिल्मलाई लिएर दिने अभिव्यक्ति र गरिरहेको फिल्ममा भिन्नता पाएकै कारण प्रकाश बनाउन तयार भएको हुँ । किनकि स्टार मात्र नभएर प्रदीपमा मैले राम्रो कलाकार पनि देखें,’ निर्देशक राउतले भने । प्रदीपले प्रकाश बन्न अभिनय सिके, अडिसन दिए, जुम्लाको भाषा सिके । एउटा स्टारले क्यारेक्टर एडप्ट गर्न गरेको यस्तो मेहनतले निर्देशकलाई विश्वस्त नबनाउने कुरै भएन । त्यसैले प्रदीपलाई ‘प्रकाश’ बनाउने तयारीमा टिम लाग्यो ।

फिल्ममा उनले जिउने मौका पाएको ‘प्रकाश’ निकै फरक छ । माओवादी द्वन्द्वमा आफ्नो पितालाई गुमाएपछि शिक्षित हुँदाहुँदै पनि शिक्षक बन्न संघर्ष गर्ने पात्र हो प्रकाश । सिस्टमविरुद्ध विद्रोहको प्रतीकको रूपमा देखाइएको प्रकाश जनआन्दोलनले दिएको उपलब्धिलाई महसुस गर्नसकेको छैन । सिस्टम फेरिने वा आमजनताका लागि सहज हुने आशमा रहेको सहिद परिवारमध्येको एक परिवारको जीवनलाई फिल्ममा देखाइएको छ ।

शिक्षक बन्दा सबैले इज्जत गर्ने भएपछि उनले शिक्षक बन्ने अठोट गर्छन् । आफ्नो अभिभावक सिस्टम फेर्नका निमित गुमाएका प्रकाशले सिस्टम, समाज र आफैँसँग लड्ने लडाइँ नै फिल्मको कथासार हो । ‘हामीले चाहेको परिवर्तन आइसकेको छ त ? त्यसलाई आमजनताले महसुस गरेका छन् त ? यी यस्तै प्रश्न प्रकाशमार्फत देखाइएको छ,’ प्रदीपले भने ।

भौगोलिक हिसाबमा कर्णालीको जुम्लाको सेटअपमा कथा भनिए पनि सिस्टमविरुद्ध गर्ने संघर्ष सबैतिर उस्तै रहेको बुझाई उनको छ । ‘हामीले हिजो गरेको संघर्षले उपलब्धि नदिँदा फेरि अर्को संघर्ष हुन सक्छ । विद्रोहको बिम्ब पनि हो प्रकाश । किनकि उसले देशको नागरिकलाई संविधानले दिएको अधिकारलाई उपयोग गर्न पाएको छैन,’ प्रदीपले भने । जुम्लामा झन्डै दुई महिना बिताएका प्रदीपले त्यहाँको जीवनलाई महसुस गरेका छन् । छायांकनकै समयमा उनी स्थानीयको घरमा समेत बसे । सँगै खान खाए । यसले उनलाई घुलमिल हुन मद्दत गर्यो । ‘मैले स्थानीयसँग सामीप्यता गाँस्दा क्यारेक्टरलाई जीवन्त बनाउन मदत गर्यो । म प्रकाशमा प्रदीप खड्काको बिम्ब न देखियो भन्ने चाहन्थे । प्रयास पनि त्यही थियो,’ उनले भने ।

त्यसो त छायांकन प्रारम्भ हुने समयमा उनलाई स्थानीय हेर्न पनि आएका थिए । ‘प्रेमगीतको हिरो आएको छ भन्दै हेर्न आउनु हुन्थ्यो । तर प्रेम त प्रकाश बनिसकेको थियो । मेरो छायांकन हरेक दिन हुने भएकाले म गेटअपमै हुन्थे । हेर्न आउनेले यो पनि हामी जस्तै रहेछ भन्नु हुन्थ्यो । त्यो नै मेरो पहिलो सफलता थियो प्रकाश बनेपछि,’ प्रदीपले भने ।

उनी आफ्नो स्टारडमको दममा नेपालको मौलिक कथा भन्न चाहन्छन् । त्यसैले प्रकाशमा अभिनय गरेका छन् । उनले फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकसम्म पुर्याउन स्टारडमको आड लिएको बताए । ‘मेरो उपस्थितिले आउने दर्शकलाई हामीले देखाउने समाजसँग कनेक्ट गर्न सक्यौं भने त्यो नै सफलता हो । मेरो अघिल्ला फिल्महरूमार्फत बनेका दर्शकले प्रचारप्रसार सामग्रीहरू हेरेर दिइरहेको प्रतिक्रिया हलबाट निस्किँदै गर्दा पनि पाउनेमा विश्वत छु । त्यो दर्शकलाई हलसम्म ल्याउन प्रयासरत छु,’ उनले भने ।

उनी कमर्सियल भ्यालु बोकेको फिल्ममा रमाउने दर्शकले केही मनोरन्जनसँगै यथार्थ बोकेको फिल्म हेरेर निराश नहुने बताउँछन् । ‘हामीले आर्ट फिल्म रुचाउनेलाई थोरै मनोरन्जनसँगै आर्ट र मसालेदार फिल्म रुचाउनेलाई पनि त्यही शैलीमा हलसम्म तान्नु जरुरी छ । हाम्रो जस्तो सानो फिल्म उद्योगमा दर्शक बाँडिनु हानिकारक छैन । मेरो प्रयास दुवै दर्शकलाई हलसम्म ल्याएर सन्तुष्ट बनाउनु नै हो,’ उनले भने ।

स्टारडमको छायाँबाट निस्किएर कलाकार बनिरहेका प्रदीपले यस किसिमको फिल्ममा लगानी गर्ने निर्माता महेन्द्र अधिकारीलाई धन्यवाद दिए । उनको चाहना हुँदाहुँदै पनि यस अगाडि यस किसिमको फिल्ममा जोडिन नपाएको उनले सुनाए । ‘मलाई यस किसिमको फिल्म गर्न मन हुँदा पनि लगानीकर्ताको इच्छा भने देखिनँ । त्यसैले गर्दा महेन्द्र दाइ जस्तो निर्माता आउनुपर्छ । जसले हामीलाई पनि आँट गर्न मद्दत गर्छ,’ प्रदीपले भने । उनी आउँदो समयमा ‘प्रकाश’ ले दिएको सिकाइलाई अन्य फिल्ममा प्रयोग गर्न तत्पर छन् । यसअगाडिका फिल्महरूमा गरेको अभिनयको तुलनामा उनमा परिपक्वता बढेको छ । ‘यसपछि मैले गर्ने फिल्ममा मेरो अनुभव पक्कै प्रयोग हुनेछन् । क्यारेक्टरमा बाँच्ने तरिकामा सुधार देख्नु हुनेछ भन्नेमा विश्वस्त हुनु भए हुन्छ,’ उनले भने ।

‘प्रकाश’ मा अभिनय गरेपछि आएको परिवर्तनले आउँदो फिल्ममा काम गर्ने उनको बुझाइ छ । उनी अब समीक्षक र दर्शक दुवैका लागि फिल्म गर्न चाहन्छन् । दर्शकलाई पनि उनी एक बनाउन चाहन्छन् । प्रकाशले मेकर्स र दर्शकमा दिलाउने विश्वास र प्रेमले हलसम्म ल्याउने दर्शकलाई हुने फिल्म गर्ने योजना प्रदीपको छ । किनकि उनी छिमेकी मुलुक भारतमा स्टारको रूपमा आफूलाई स्थापित गर्न खोज्दैछन् भने नेपालमा कलाकारको रूपमा । कुनै समय नेपालमा आफ्नो भविष्य नदेखेर अस्ट्रेलिया जाने तयारीमा रहेका प्रदीप यतिबेला नेपालमा खोजिने कलाकारहरूमा अग्रपंक्तिमा पर्छन् ।

– प्रदीप कार्की 

कमेन्टहरु
Loading...