पोखरा । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्नता गराई करको दर हेरफेर गराएको भन्ने विषयमा बनेको छानविन समितिका सदस्य सांसद खगराज अधिकारीले छानविन समितिको काम अधुरै राखेर अनौठो अनुभव लिइएको प्रतिक्रिया दिएका छन् । सांसद अधिकारीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत छानविन समितिको काम अधुरै राखेर अनौठो अनुभव लिएको प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन् ‘छानवीन समितिको काम अधुरै राखेर अनौठो अनुभवका साथ औपचारिक रुपमा आजवाट विदा भयौ ।’
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित छानविन समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।
आजै बसेको प्रतिनिधिसभाको बैठकमा समितिका सभापति कर्णले छानविन समितिको प्रतिवेदन पेश गरिसकेका छन् ।