पोखरा महानगरपालिकाको पारित भएको बजेट यस्तो छ

पोखरा  । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का ११ औँ नगरसभामा पेश गरेको बजेट पारित भएको छ । असार १० गते पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले रु ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट सभामा पेश गरेका थिए । सभामा पेश भएको बजेट आइतबारको बसेको नगरसभाले छलफलपछि सर्वसम्मतले पारित गरेको हो ।
महानगरका मेयर एवं सभाध्यक्ष धनराज आचार्यले बजेट पारितका लागि सभामा निणयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालू आवमा महानगरको बजेट रु छ अर्व ४१ करोड १० लाख थियो ।
नगसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९/८०–०८१/८२) पारित गरिएको प्रमुख आचार्यले बताए ।
महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको रहेको छ ।
यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।
कमेन्टहरु
Loading...