राजु गिरी, पोखरा । पोखराका बजारमा अहिलेपनि पेट्रोलियम पदार्थको हाहाकार भैरहेको छ । गत शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलन गरेका व्यवसायीले यहि शनिबार ४ बुँदे सहमति गरि आन्दोलन फिर्ता लिएका थिए । आन्दोलन फिर्ता लिएको ४ दिनसम्म पनि अझै बजारमा पेट्रोलियम पदार्थको हाहाकार यथावत नै छ ।
डिजेलमा केही सहज भएपनि पेट्रोल पाउन भने मुस्किल परिरहेको सवारी धनीहरुले बताएका छन् ।
डिपोमा तेल हुँदाहुँदै पनि सहजरुपमा उपलब्ध नगराइएको पोखराका एक पेट्रोलपम्प व्यवसायी बताउँछन् । उनी भन्छन् –‘आन्दोलन फिर्ता लिएको ४ दिन भैसक्दा पनि बजारमा पेट्रोलियम पदार्थको समस्या जस्ताको तस्तै छ ।’ आयल निगमले आफु घाटामा छु भन्दै उपभोक्तालाई दुःख दिइरहेको उनको आरोप छ ।
यता नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा (गगनगौँडा) डिपो प्रमुख इन्दु शर्माका अनुसार पहिला व्यवसायीको आन्दोलन त्यसपछि चालकहरुको आन्दोलन, अहिले पेट्रोलियम पदार्थको मुल्य वृद्धि र केन्द्रमा भएको सिस्टम डाउनका कारण बजारमा सहजरुपमा उपलब्ध नभएको बताउँछिन् । बजारमा डिजल पाईएको र आज साँझबाट पेट्रोल पनि सहजरुपमा पाइने उनको भनाई छ । ‘अरु समस्या अव छैन आजबाटै सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुनेछ ।’ उनी बताउँछिन् ।