राजमार्ग तत्काल मर्मत गर्न माग

पोखरा, १७ माघ/भत्किएको र खाल्डाखुल्डी परेको पृथ्वीराजमार्ग तत्काल मर्मत संभार र पुनः निर्माण नगरिए राजमार्ग नै बन्द गरिदिने चेतावनी पश्चिमाञ्चल होटल संघ पोखराले दिएको छ । राममार्ग खाल्डाखुल्डी परेको, सडकमा सवारी गुडाउँदा उफ्रिने अवस्था रहेको र यसका कारण दुर्घटना बढ्दै गएको जनाउँदै संघले त्यस्तो समस्या अन्त्य गर्न राजमार्ग सुधारको माग गरेको छ ।माघ लिएर संघको एक टोली वुधवार डिभिजन सडक कार्यालय कास्कीमा पुगेको थियो । पोखरा प्रवेश गर्ने प्रमुख राजमार्गको दूरावस्थाप्रति सर्वसाधरण मात्र नभई सवारीमा गुडेर पोखरा आउनेजाने पर्यटकले गुनासो गर्ने गरेको कारण राजमार्ग तत्काल मर्मतसंभार गर्न जरुरी भएको संघका अध्यक्ष हरिप्रसाद शर्माले बताए । सडक मर्मत संभारको जिम्मेवारी डिभिजन सडक कार्यालयको नै भएको बताउँदै उनले माग पूरा नभए आफूहरु मन्त्रालय र विभाग जहाँ पनि जान तयार रहेको बताए । राजमार्ग जस्तो संवेदनशिल सडकको तत्काल मर्मत संभार हुन जरुरी रहेको आबश्यकताप्रति सम्बन्धित निकाय गंभीर बन्नुपर्ने भनाई उनिहरुको छ ।

संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले पोखराको पर्यटन क्षेत्रमा मात्र अर्बौं रुपैयाँको लगानी भएको र पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएका कारण राजमार्ग तत्काल मर्मत गर्न जरुरी भएको बताए । नेता, मन्त्री र पहुँच हुनेले आफ्नो गाउँका साना र धुले सडकका लागि करौडौं रुपैयाँ वजेट निकासा गर्ने गरेको तर यो राजमार्ग मर्मत नहुनु भौतिक योजना तथा निर्माण मन्त्रालय र सडक विभागको नालायिकी पना भएको बताए । संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले यथाशक्य छिटो सडक मर्मत संभार नगरिए मुग्लिनदेखि नै पृथ्वीराजमार्ग बन्द गर्न आफुहरु बाध्य हुने चेतावनी दिए ।

दक्षिण पट्टिको खण्डमा केही मर्मत संभार भए पनि कास्की जिल्लामा रहेको हिस्सामा कुनै मर्मत संभार नगरिएको स्वयं डिभिजन सडक कार्यालय कास्कीले समेत स्वीकार गरेको छ । डिभिजन सडक कार्यालय कास्कीका प्रमुख उमेश विन्दु श्रेष्ठले वजेट अभावमा राजमार्गको मर्मत संभार हुन नसकेको बताउँदै आफूहरुले हरेक वर्ष मन्त्रालयमा वजेट माग भने गर्ने गरेको दावी गरे ।

यो पटकलाई सडक मर्मत संभारका लागि जम्मा दुई करोड ८० लाख रुपैयाँ वजेट प्राप्त भएको जानकारी दिंदै उनले यसले विजयपुरदेखि दक्षिणपट्टि दुई हजार चार सय मिटर राजमार्ग मर्मत मर्मतसंभार गरिने जानकारी दिए । यसैगरी कोत्रेभन्दा उत्तरपट्टि चार किलोमिटर सडक रिसिलिङ पनि यही आर्थिक वर्षमा गरिने जानकारी उनले दिए । पृथ्वीराजमार्गका सन्दर्भमा सडक रिसिलिङ पछि गरिने रिहाविटेसन गर्ने अवस्थाबाट समेत गुज्रिसकेको जानकारी उनले दिए ।

संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले राष्ट्रिय राजमार्ग मर्मत संभारको विषयका सरकार गंभीर बन्नुपर्ने बताए । पोखरा पर्यटकीय शहर समेत भएका कारणले पोखरा प्रवेश गर्ने राजमार्ग तत्काल मर्मत गर्न जरुरी रहेको भनाई उनको थियो ।

कमेन्टहरु
Loading...