चौथो सृजना कप छात्र/छात्रा भलिवल प्रतियोगिता चैत ४ गतेदेखि

गन्थन संवाददाता, पोखरा । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चौथो संस्करणको सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र/छात्रा भलिवल प्रतियोगिता चैतको ४ गतेदेखि शुरु हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुन्याउने लक्ष्यसहित चैतको ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

कोमिड १९ का कारण माघमा सम्पन्न गरिने भलिबल खेल स्थगीत भएकोले प्रतियोगितालाई चैत ४ गतेदेखी ०७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । साथै कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय एवम् विद्यालयबाट खेलको जग (बेस) बलियो बनाई जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुबै तर्फकालाई एकरएक लाख, उपविजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीलाई ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाहरु बेष्ट स्पाईकर, बेष्ट ब्लकर, वेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भरलाई १–१ थान भलिबल प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब १० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ५० हजार रुपैया बचत गर्ने लक्ष्य राखेका बचत रकम भलिवल खेलकै विकास र विस्तारका लागि खर्च गरिने आयोजकले घोषणा गरेको छ ।

कमेन्टहरु
Loading...