गन्थन संवाददाता, पोखरा । कास्कीको रुपा गाउँपालिकाले विगत झै स्थापना दिवसका अवसरमा फागुन २३ गतेदेखि विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्थापना दिवसका अवसरमा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता, झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगितालगाएतका कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो ।
युवाहरुलाई खेलकुदको माध्यमद्वारा उनीहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्दै स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । साथै गाउँपालिका स्तरीय कबर्डहल र प्यारापिट सहितको स्टेडियम निर्माण कार्य पनि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरि निर्माण कार्य भैरहेको अध्यक्ष ओझाले जानकारी दिए ।
भलिबलतर्फ प्रथम हुने टिमलाई १ लाख २० हजार, द्धितियलाई ९० हजार, तृत्तियलाई ६० हजार र सान्त्वना हुने टिमलाई नगद ३० हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै झाँकी प्रदर्शन प्रतियोगितामा प्रथम, द्धितिय र तृत्तियलाई क्रमशः नगद रु ४० हजार, ३० हजार र २० हजार प्रदान गरिनेछ । त्यसैगरि माला प्रतियोगिताका लागि प्रथम हुनेलाई नगद रु ६,६६७, द्धितिय हुनेलाई ४ हजार र तृत्तिय हुनेलाई २,६६७ रुपैयाँ प्रदान गरिनेछ ।
५ दिनसम्म चल्ने कार्यक्रमलाई सफल बनाउन लालसुब्बा गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न उपसमिति गठन समेत गरिएको छ ।