भोलिदेखि शैक्षिक संस्था सुचारु, कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी भोलिदेखि सञ्चालन हुँदैछन् ।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार शैक्षिक संस्थाहरु सञ्चालनमा आउने भएका हुन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो ।

सिसिएमसीले फागुन १ गतेदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्न सिफारिस गरेपनि कास्कीमा रात्रीकालिन व्यबसाय संचालनमा रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नभएसम्म संचालनमा रोक लगाएको हो ।

प्रशासन कार्यलय कास्कीले डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल संचालनमा रोक लगाएको हो ।

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

कमेन्टहरु
Loading...