काठमाडौं / कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परिक्षण गरिएको हो ।
विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ ।
सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य खाडी मुलुक र मलेशियामा रहेको नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले बताएको छ । उक्त सामानहरु जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा शुरु गरिनेछ ।
विभागका अनुसार अहिले अन्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुमा पनि उपकरणहरू पठाउने कार्य भइ रहेको छ ।
नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ ।