पोखरा । छैठौं मिस तामाङ पोखरा–२०२२ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिता लेकसाईडस्थित बिजीबी रिसोर्टमा भर्चुअल माध्यम मार्फत हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने छन् ।
४५ दिन सम्म चलेको प्रशिक्षणमा विभिन्न क्षेत्रका व्यक्तिहरुले तामाङ युवतीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतियोगितामा उपेन्द्र पौडेल, राजु केसी, सरस्वती गुरुङ, विशाल श्रेष्ठ, गणेश गिरी, सञ्जय मल्ल, धनप्रसाद तामाङ, रामप्रसाद स्याङदान, मिलन प्रतिक, डा. कृष्णमुरारी अधिकारी, नवल पंजियार, रविन गुरुङ, गुरु लामा पाल्देन र गणेश पहारीले प्रशिक्षणमा सहभाति युवतीहरुलाई तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए ।
जिया तामाङ, आशिका तामाङ, मनिषा तामाङ, पूजा तामाङ, रेखा तामाङ, कृष्टि तामाङ, मानसी तामाङ, पेमा तामाङ, सृर्जना तामाङ र रितिका तामाङ गरी १० जना प्रतियोगिका रुपमा रहेका छन् । मिस तामाङ वल्र्ड २०२१ की विजेता स्याङडोमा ब्लोन तामाङको उपस्थितिमा हुने प्रतियोगिता शनिबार दिउँसो बजेपछि हुने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोर्खा ब्रुृअरी रहेको छ ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।