नेकपा एमालेको सदस्य हुनु नै गर्वको कुरा होः खगराज अधिकारी

गन्थन संवाददाता, पोखरा । नेकपा एमालेको सदस्य हुनु नै गर्वको कुरा भएको पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारीले बताएका छन् । एमालेको १०औं जिल्ला अधिवेशन कास्कीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । टुक्रियर गएको, अर्थहिन पार्टीको मुख्य जिम्मेवार पदमा रहनुभन्दा एमालेको सदस्य हुनु नै गर्वको कुरा रहेको उनको भनाई थियो ।

समारोहमा उनले एमालेको सरकार आएपछि धेरै गौरवका आयोजना तथा विकासका कार्य भएको बताए । उनले भने, ‘एमाले सरकार रहिन्जेल टोल टोल तथा वडा वडामा विकासका काम भएका छन् ।’

एमालेलाई अझ गतिशिल र सक्रिय पार्टी बनाउन लाग्नु पर्ने उनले आग्रह गरेका छन् । साथै पार्टी निर्माणका लागि सक्रिय हुन सबै कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

साथै घेराबन्दीको अवस्थामा हरेक अधिवेशन स्वच्छ, शान्त र एकता सन्देश दिने गरि सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।

एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन् ।

कमेन्टहरु
Loading...